पुष्पाले उखेलिन् विपिनका लागि रोपेका सयपत्री
महाकालीमा धुँवासँगै उड्यो विपिनको कृषि क्रान्तिको सपना
धनगढी। कञ्चनपुरको मीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन निवासी विपिन जोशी अध्ययनका लागि दुई वर्षअघि इजरायल पुगेका थिए। त्यहाँ पुग्दा उनले परिवारको सपना र जीवनको लक्ष्य बोकेका थिए। परिवारले पनि विपिनमा आफ्नो भविश्यको खुसी देखेको थियो।
दैवको नियती, त्यो खुसी धेरै लामो समय टिक्न सकेन। ७ अक्टोबर २०२३ मा भएको हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। तत्कालीन समयमा ज्यान गुमाउनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, धनुषाका आनन्द साह र सुनसरीका राजेश कुमार स्वर्णकार रहेका छन्।
यस्तै डोटीका राजन फुलारा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भट्टराई, दार्चुलाका लोकेशसिंह धामी, कैलालीका आशिष चौधरीले पनि सोही आक्रमणमा प्राण त्यागे। तर, विपिनको अवस्था अज्ञात थियो।
हमासले थुप्रै व्यक्तिलाई बन्धक बनाएको थियो। तीनै बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश थियो। धेरैलाई विपिन जीवितै हुन सक्ने आसा थियो। तर, केही दिन पहिले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएसँगै त्यो आसा पनि मरेको थियो।
अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएपछि हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरू रिहा गरिको थियो। इजरायलले अन्तिममा २० बन्दीलाई जीवितै रिहा गर्यो।
गाजामा भएको हमलापछि हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए। सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए। तर, त्यसपछि उनको अवस्था अज्ञात थियो।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा यसअघि इजरायल गएर फर्किएका थिए। त्यसपछि उनीहरू विपिनको अवस्था सार्वजनिकको अपेक्षासहित कुटनीतिक पहलका लागि अमेरिका पुगेका थिए। तर, सबै प्रयास विफल भएका छन्। उनीहरू अमेरिकामै रहेको समयमा विपिन जीवित नरहेको खबर बाहिरियो।
चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि विपिनको शव बाकसमा दुई वर्ष नेपाल आयो। यस हृदयविदारक घटनाले परिवारसँगै सिङ्गो नेपालीको मन पोलेको छ। कञ्चनपुर शोकमय बनेको छ।
घरघरमा दिपावलीको रौनक छाएको छ। तर, विपिनको घर र टोलमा भने सन्नाटा छाएको छ। सबैका आँखामा आशु छन्। गह भरिएका छन्।
बहनी पुष्पाले दाइ जीवितै फर्किने ठूलो आसा बोकेकी थिइन्। उनले दाइलाई कुर्दै रोपेका सयपत्रीले घर आगन ढकमक्क थियो। तर, एक बहिनीको प्रतिक्षा बेर्थ हुन पुग्यो। दाइको निधनको खबरले विक्षिप्त पुष्पाले घर आगनमा उम्रिएका पुष्पका वृक्ष उखेलिदिएकी छन्। उनलाई मन सम्हाल्नै गाह्रो भइरहेको छ।
घरबैले घरघरमा लक्ष्मी भित्र्याइरहेका थिए। तर, पुष्पाको घरमा दुई वर्षदेखि बेपत्ता दाइको कंकाल पुगेको थियो। यो पीडाले सिंगो बस्ती शोकाकुल बनेको छ।
सोमबार दिउँसो काठमाडौं पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्याइएको थियो। उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका थिए।
इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ। इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो।
विपिनको आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिएको छ। यससँगै विपिनको कृषि प्रधान नेपालमा कृषि क्रान्ति गर्ने सपना महाकालिको भंगालोमा खरानी र धुवाको मुस्लो बनेर सकिएको छ। विपिनको आत्माको शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि।
















Facebook Comment