नेपाल संवत्को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली

डिसी नेपाल
५ कार्तिक २०८२ २२:०४
24
Shares

कास्की। पोखरामा नेपाल संवत् ११४६ को स्वागतार्थ भिन्तुना र्याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा शितलादेवी नेवाः पुच, पोखरा–१२ र सिसुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा भिन्तुना र्‍याली निकालिएको हो।

पोखरा महानगरपालिका–३ नारायणस्थान मन्दिरस्थित वीरेन्द्र स्मृति पार्कभित्र रहेको राष्ट्रिय विभूति शङ्खधर साःख्वाको प्रतिमामा माल्यार्पण गरी र्‍याली निकालिएको हो। नेपालीको महानपर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखी नेपाल संवत् (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल संवत्को स्वागतार्थ हरेक वर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ।

यसैको निरन्तरतास्वरुप यस वर्ष पनि र्‍याली निकालिएको र झाँकीसहित विभिन्न जाति जनजातिको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो, भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए।

आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल संवत्को अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए।

र्‍यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले पछिल्लो क्रममा नेवार जातीले आफ्नो भाषा, संस्कृति छाड्दै गएकोमा चिन्ता व्यक्त गरे।

उनले भने, ‘भाषा, संस्कृति मानिसको पहिचान हो। नेवारी भाषा बोल्न, संस्कृति मान्न र वेषभूषा लगाउन कसैले पनि हिच्किचाउनु हुन्। संस्कार, संस्कृति, भाषा र वेषभूषा संरक्षणमा सबैको योगदान आवश्यक छ।’ नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल संवत् मौलिक र साझा संवत् भएकाले यसलाई दैनिक कामकाजमा प्रयोग गर्नुपर्नेमा बताउँदै भाषा, संस्कृति सबैले गर्वका साथ प्रयोग र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

यसैगरी नेवाः खल कास्कीले स्थापना गरेको पोखरा नेवा रत्न सम्मान यसवर्ष भैरव सांस्कृतिक समितिलाई प्रदान गरिएको छ। वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, सङ्गीता बज्राचार्य, सुविन्द्र श्रेष्ठ र श्रीकृष्ण कतिला रहेको छनोट समितिले गरेको सिफारिसका आधारमा नेवा खल कास्कीले पहिलो पटक भैरव सांस्कृतिक संरक्षण समितिलाई नेवा रत्न सम्मान प्रदान गरेको हो।

नेवारी संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कारको राशि नगद रु एक लाख र ताम्रपत्र छ। त्यस्तै, नेवाः खल कास्कीले हरेक दुई÷दुई वर्षमा प्रदान गर्नेगरी अन्तरराष्ट्रिय नेवा रत्न सम्मान पनि घोषणा गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *