सर्लाहीमा प्रहरीको कडाइ : तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान
सर्लाही । तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन ल्याएको छ।
प्रहरी प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण र राजस्व वृद्धिका प्रयासहरू सशक्त रूपमा अघि बढिरहेका छन्।
एसपी खड्काको निर्देशनमा सर्लाही प्रहरीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी बढाएको छ। अवैध रूपमा वारपार हुने सामान र लागूऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निरन्तर कारबाही भइरहेको छ। प्रहरीले हालसम्म दर्जनौँ तस्करलाई नियन्त्रणमा लिएर अवैध सामानसहित भन्सारमा बुझाइसकेको छ।
‘सर्लाहीलाई अपराधरहित र तस्करीमुक्त जिल्ला बनाउने हाम्रो लक्ष्य हो,’ एसपी खड्काले बताएका छन्। उनका अनुसार सानो मात्रामा पनि अवैध कारोबारमा संलग्न पाइएकाहरूमाथि कठोर कानुनी कारबाही गरिनेछ।
गत केही हप्तामा मात्रै सर्लाही प्रहरीले लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न गरी दुई दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ।
एसपी खड्काका अनुसार प्रहरीले लागूऔषध सेवनकर्तालाई काउन्सिलिङमार्फत सुधार्ने, ओसारपसारको सञ्जाल भत्काउने र अवैध कारोबार नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ।
सर्लाही भारतसँग जोडिएको सीमा जिल्ला भएकाले भन्सार राजस्व वृद्धिसँगै सीमा अपराध नियन्त्रण पनि प्रहरीको प्रमुख दायित्व रहेको उनले बताएका छन्। ‘शान्ति सुरक्षा र अपराध नियन्त्रण हाम्रो प्राथमिकता हो। साथै तस्करी नियन्त्रण गरेर राज्यको राजस्व वृद्धि गर्नु पनि प्रहरीको जिम्मेवारी बनेको छ,’ उनले भने।
उनका अनुसार तस्करी र लागूऔषध कारोबारले समाजमा अन्य अपराधहरू बढाउने भएकाले प्रहरी अहिले यी सबै गतिविधि नियन्त्रण गर्न सर्वसाधारणसँग सहकार्य गर्दै अघि बढिरहेको छ।







डिसी नेपाल







Facebook Comment