जुवा संस्कृति
‘महाभारत’ ग्रन्थ अनुसार पाण्डव र कौरव बीच जुवाको खालमा युधिष्ठिरले आफ्ना भाइ पाण्डवहरूको अगाडि कौरवसँग पाँच वटै पाण्डवकी साझा पत्नी द्रौपदीका साथै आफ्नो राज्य र सम्पूर्ण धन-सम्पत्ति हारेका थिए।
कौरव दाजुभाइ मध्येका दुशासनले त्यसपछि द्रौपदीको चीरहरण गर्ने कोशिश गर्दा उनले कृष्णलाई आफ्नो लाज बचाइ दिन मनमनै प्रार्थना र गुहार मागेपछि कृष्णको चमत्कारी हस्तक्षेपका कारण त्यो सम्भव भएको थिएन। त्यतिबेला पाण्डवहरू लाचार भएर त्यो दृश्य हेरिरहेका थिए।
द्रौपदीले त्यो सभामा आफ्नो त्यति ठूलो अपमान र बेइज्जतीको दोष कौरवहरूलाई मात्र नदिएर आफू र आफ्नो स्वाधिनतालाई जुवाको दाउमा राख्ने आफ्नै लोग्ने पाण्डवहरूको समेत घोर भत्सर्ना गरिन्।
एक नारीले आफ्नो अष्मिता र हकको निम्ति सशक्त भएर त्यति ठूलो सभामा बोलेको कुरालाई आजसम्म पनि पूर्वीय संस्कृतिमा महिला हक र अधिकारको निम्ति भएको पहिलो घटना र महिला हक अधिकारको निम्ति लड्ने प्रथम विदूषी द्रौपदी भएको मान्यता छ।
मेसोपोटामियामा ३,००० इशापूर्वतिर नै पासा खेल्ने प्रचलन भएको कुरा विश्व इतिहासमा अङ्कीत छ। त्यस्तै चीनमा पनि १,००० वर्ष अघिदेखि नै जनावरहरू लडाएर जुवा खेल्ने चलन शुरु भएको थियो।
तास खेल्ने चलन पनि चीनबाटै नवौँ शताव्दितिरदेखि शुरु भएको मानिन्छ। आजको जस्तो जुवाघर (क्यासिनो)को शुरुवात सोह्रौ शताव्दितिर इटालीको भेनिसबाट शुरु भएको मानिन्छ भने बेलायत र अन्य युरोपेली राष्ट्रमा पनि निकै पहिले देखि जुवा मौलाएको हो।
कतिपय चिनियाँहरू आज पनि तासका खेलाहरूका साथै ‘माजोङ’ भनिने लङ्गुर बुर्जाको गोटी जस्तै दर्जनौँ गोटीहरू मार्पmत जुवा खेल्दछन्। क्यासिनो संस्कृतिमा पनि चिनियाँहरू अगाडि नै छन्।
आज पनि विश्वका धेरै मुलुकहरूमा विभिन्न प्रकारका जुवा खेल्ने प्रचलन छ। तर जुवालाई धेरै जसो मुलुकहरूमा बर्जित गरेर कुनै निर्दिष्ट ठाउँ वा समय वा पर्यटकहरूको निम्ति मात्र पनि खुला गरिएको हुन्छ।
पूर्वीय संस्कृतिमा जुवाले निकै गहिरो जरा गाडेको छ। पुरानो जमानामा राजा-महाराजादेखि जनता जनार्दनसम्मको एक प्रकारको अम्मल जुवा नै थियो। यसो हुनुमा त्यतिबेला मनोरञ्जनका निकै सीमित साधन हुनु पनि प्रमुख कारण हो। त्यो जमानामा रक्सी, यौन र जुवा नै मनोरञ्जनका प्रमुख साधन थिए भने यी तीन खराव अम्मलका बारेमा धेरै साहित्यहरू पनि लेखिएका छन्।
नेपालमा राणाशासनको समयमा कुनै शुभ समाचार आएमा र चाडवाडको बेलामा केही निश्चित समयको लागि जुवा फुकाउने चलन हुन्थ्यो। त्यो समयमा मानिसहरू खुलेआम जुवा खेल्ने गर्थे भने केहीलाई छोडेर धेरै मानिसहरू जुवामा हारेर बर्बाद हुने गर्दथे।
चाडबाडमा नेपालका राजदरवार, राणाहरूका दरवार, गुरुज्यू-पुरोहित तथा साहु महाजनहरूकहाँ ठूलो स्तरको वा अर्को अर्थमा भोरजुवा हुने गर्दथ्यो। भोरजुवाले ठूलो धनराशी दाउमा राखेर खेल्ने जुवालाई जनाउँछ भने यसको अर्थ रातबिहानभर यानी निश्चित अवधिसम्म चौबिसै घण्टा खेलिने जुवा भन्ने पनि बुझिन्छ।
ठूला ठूला जुवाडेहरूले जुवा जित्ने आशामा देवीको पुजा गरेको, कौडा र पासाको पुजा गरेको तथा अन्य तन्त्रमन्त्रको समेत प्रयोग गरेका कथाहरू पनि सुन्न पाइन्थ्यो। नेपाल खाल्डो यानी प्राचिन काठमाडौँ उपत्यकाका प्रताप मल्ल जस्ता प्रतापी र तन्त्रशास्त्रमा पारङ्गत राजाहरूले आधा रातमा देवी–भगवतीसँग पासा खेल्थे भन्ने पनि कहावत छ।
काठमाडौँका एकजना धनाढ्य ‘पन्त’ थरी ब्राह्मणले देवीको उपासना गरेर जुवा जित्ने साधना गरेकोले उनलाई जुवामा कसैले पनि हराउन नसकेको कुरा पनि सुन्नमा आएको थियो। जसरी कौडा फ्ँयाके पनि उनले चौका दाउ नै पार्दथे रे।
एकचोटी चन्द्रशमशेरले उनलाई सिंहदरवारमा बोलाएर सो दरवारको छतबाट कौडा मिल्काएर चौका दाउ पार्न सके ठूलो धनराशी दिने वाचा गर्दा तिनले सिंहदरवारको छतबाट कौडा मिल्काएर पनि चौका दाउ नै पारेका थिए रे। उनले जुवामा सदा विजयी हुन कै निम्ति भनेर आफ्नो पुजाकोठामा आफ्नी ब्राह्मणीलाई देवीदेवताको तस्विर अगाडि निर्वस्त्र नृत्य गर्न पनि लगाउँथे अरे।
चन्द्रशमशेर कै एकजना बडागुरुज्यूले दशैँतिहारको बेला आफ्नो घरमा कौडा खेलाउँदा रहेछन्। चन्द्रशमशेर त्यति जुवा नखेल्ने भए पनि एक दिन ठूलै थैलीमा निकै नै असर्फी लिएर सो जुवाको खालमा पुगेछन्। त्यस्ता जुवाको खालमा नातेदार वाहेक शहरका भद्र–भलाद्मी, साहु–महाजन, व्यापारी तथा उच्च पदस्थ कर्मचारीहरू पनि आमन्त्रित हुने गर्दथे।
त्यस्तै बेला बडागुरुज्यूले कौडा हान्ने बेलामा चुपचाप चन्द्रशमशेरले अलिकति असर्फी च्याँखेमा राखेछन्। तर बडागुरुज्यूले कसले राखेको हेर्दै नहेरी ‘भाराभुरे बाद’ भनेर चन्द्रशमशेरको च्याँखेलाई हटाउन लगाएछन्। लाजले मुसुक्क हाँस्दै उनी चुपचाप भएर हेर्दै बसेछन्।
चन्द्रशमशेरले दुई-तीन पटक राखेको च्याँखे बडागुरुज्यूले हटाइदिए पछि निकै रिसाएका चन्द्रशमशेर जङ्गिँदै ‘यो बाहुनलाई डाँडा कटाइदे’ भनेर कराए पछि गुरुज्यूको जुवाको नशाले उम्लेको होस् काबुमा आएछ। तर चन्द्रशमशेर जस्ता कडा प्रधानमन्त्री रिसाएर दरवार फर्के पछि उनको कुनै पनि हार गुहारले के नै हुन सक्थ्यो र। आखिर उनले बडागुरुज्यूको पदवी पनि गुमाएर काशीवासमा जानु परेछ। जुवाको लतले मानिसलाई यतिसम्मको नियतिमा पुर्याउँदो रहेछ।
आज जस्तो कागजी नोटको प्रचलन ज्यादै कम भएको बेला थियो त्यो। भारत जाँदा वा भारतसँग व्यापार गर्दा भारतको कम्पनी नोटको प्रयोग हुने गर्दथ्यो। त्यो बेलामा बोरा बोरामा असर्फी र सुनचाँदी लिएर सम्भ्रान्तहरूको घरमा जुवाडेहरू खालमा बस्थे अरे।
राजा-महाराजाको दरवारमा हातमा र खुट्टामा सेता पञ्जा र मोजा लगाएका बैठकेहरू गहना जोख्ने साना तराजु लिएर च्याँखे राख्ने र तिर्नेका असर्फी जोखेर जुवाको कारोवारमा सघाउँथे रे। च्याँखे राखेको रकमलाई तराजुको एकातर्फ राखेर सोही बराबरको रकम अर्को तर्पm राखेर तौलेर बराबरी गर्ने गर्दथे रे।
सन् १९३२ (बि.सं. १९८९) ताका नेपालमा आफ्नै नोट छपाउन शुरु भएको देखिन्छ। त्यस्ता नोटमा बडागुरुज्यूको हस्ताक्षर हुने गर्दथ्यो। आजको गभर्नर जस्तो त्यतिबेला खजाञ्ची हुने गर्दथे र केन्द्रिय बैंक नभएको सो समयमा नोट छपाउने काम नेपाल बैंक लिमिटेडको हुने गर्दथ्यो। बि.सं. २०१३ साल ताका नेपाल राष्ट्र बैंकको स्थापना भएको हो र त्यसपछि मात्र केन्द्रिय बैंकले नोट छपाउन शुरु गरेको हो।
डिल्लीबजारका गुरुज्यूको घरमा पछिसम्म पनि चाडवाडमा ठूलो जुवाको आयोजना हुने गर्दथ्यो। त्यस विशाल घरको हाल ‘भोजनगृह’ नामक नेपाली खानाको रेष्टुरेन्ट रहेको विशाल वैठक कोठामा जुवाको आयोजना हुने गर्दथ्यो।
अझसम्म पनि काठमाडौँका धेरै सम्भ्रान्त परिवारमा दशैँतिहारमा जुवा खेल्ने परिपाटी कायमै छ। कतिले त दशैँ र तिहार तथा भाइटिकाको दिन रातभर जुवा खेलेपछि पनि त्यसको एक हप्ताभित्र हार्ने जुवाडेहरूको निम्ति उक्सिने अन्तिम अवसर भन्दै पुनः अन्तिम पटक जुवाको आयोजना गर्दछन्।
धेरै टाढा किन नै जानु र। पञ्चायती व्यवस्थाका एक प्रधानमन्त्री कीर्तिनिधि विष्ट पनि निकै दिलोज्यानका साथ जुवा खेल्ने गर्दथे। एकपटक कृष्ण पाउरोटी भण्डारका कुनै अग्रजले कौडामा मारिरहेको बेलामा कीर्तिबाबुले च्याँखे राख्दा आफूले जुवाको खालमा लिएर गएको भएभरको सबै पैसा हारेर आखिरमा कमलपोखरीस्थित (हालको सीटी सेन्टर र कलकत्ता स्विट्स बीचको) एक ठूलै टुक्रा जग्गा दाउमा राखेछन् र त्यो पनि हार्न पुगेछन्।
पछि जित्ने व्यक्तिले त्यहाँ निकै आलिशान बङ्गला बनाएको थियो, जुन अझै पनि छँदैछ। वि.सं. २०२५ सालतिर कीर्तिनिधि विष्ट परराष्ट्र मन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघको वैठकमा भाग लिन जाँदा अमेरिकाका विभिन्न राज्यको भ्रमणको
सिलसिलामा लासभेगासको एक जुवाघरमा बाजी मार्न पनि गएका रहेछन्। तर जम्मा १,५०० अमेरिकी डलर बोकेर गएका उनले त्यहाँको रुलेटमा धनाढ्य जुवाडेहरू एकै पटक निकै ठूलो रकम राखेर जुवा खेलेको देखेर आफूसँग रहेको रकम एकाध पटकलाई पनि नपुग्ने ठहर गरी त्यहाँको माहौलको नजारा मात्र लिएर फर्केछन्।
उनको यस्तो आदतले गर्दा राजा महेन्द्रले एक पटक उनलाई ‘हेर कीर्ति, तिम्रो सबै बानी राम्रो छ तर यो जुवाको आदत भने ठीक भएन’ भन्दा उनले ‘सरकार, म सबै कुरा गर्न सक्छु तर चाडबाडमा जुवा नखेली बस्न भने मलाई निकै गाह्रो हुन्छ’ भनेछन्।
एक पटक उनी प्रधानमन्त्री भएको बेला राजा वीरेन्द्रले पनि त्यति ठूलो ओहदामा रहेको मानिसले चाडवाडमा समेत सार्वजनिक रूपमा जुवा खेल्न हुँदैन भने पछि सो वर्ष उनले जुवा त खेलेनछन् तर उनले तारन्तार जुवाडे साथिहरूलाई फोन गर्दै हारजित के के भइरहेको छ भनेर सोधखोज गरेको कुरा थाहा पाए पछि राजा वीरेन्द्रले उनलाई तिहारको अन्तिम दिन आफ्नो दरवारभित्र परिवारजनहरू बीच भएको रमाइलोको लागि खेलिएको सानो जुवामा आमन्त्रण गरेर उनको जुवाको प्यास मेटाइ दिएका थिए रे।
पञ्चायतको अवसान पछि राजनीतिबाट अलग्गिएका पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ पनि दिन कटाउनको निम्ति आफ्ना साथिहरूसँग दिनहुँ तास खेल्ने गर्दथे रे। यसरी दिन कटाउने तासका खेलहरूमा ‘पप्लु’ र यसको परिस्किृत रूप ‘म्यारेज’ पहिलो नम्बरमा आज पनि आउँछ भने सम्भ्रान्तहरूको बीच ‘ब्रिज’ निकै लोकप्रिय छ। त्यस्तै भहाभारतकाल देखिको निकै लोकप्रिय खेल ‘पासा’ आजसम्म पनि पुरानिया मानिसहरूमा लोकप्रिय छ।
यसरी दिन कटाउन खेलिने खेलमा आर्थिक हारजित खासै हुँदैन। राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेरले आफ्नो जीवनको उत्तराद्र्धमा पनि साथिहरूसँग पासा र ब्रिज खेल्ने गरेको प्रसङ्ग सुनाउने गर्दथे।
एकचोटी नेपाल बैंक लिमिटेडका पूर्व प्रशासक आनन्दभक्त राजभण्डारीले फ्याँकेको तीन वटै पासा ठाडो भएर अडेको र यस्तो हुनु ज्यादै अचम्मको कुरा भएको उनले बताएका थिए। किनकी करिव चार इन्च लामो र पौने इन्च जतिको मोटाई भएको पातलो चारपाटे पासा त्यसरी ठाडो भएर धरहरा जस्तै उभिने भनेको असम्भवप्रायः नै हुने गर्दछ।
रम्मी भनिने तासको खेलबाट नेपाली जुवाडेहरूले प्रतिपादन गरेको मानिएको म्यारेज भन्ने खेला नेपाल, भुटान तथा विदेशमा बस्ने नेपालीहरू बीच पनि निकै लोकप्रिय छ। यो खेला हारजित र समय कटाउने दुवै प्रयोजनको निम्ति खेलिने गर्दछ। तास खेलको शुरुवात चीनमा भएको र यसका विभिन्न लोकप्रिय खेलहरू भने सयौँ वर्ष पहिले मिश्र, फारस र भारततिर भएको मानिन्छ।
मेरा पिताजी पनि दशैँ-तिहारमा नातेदार, छिमेकी तथा साथिहरू बोलाएर तास र कौडा खेल्न रुचाउनु हुन्थ्यो। उहाँको निवासमा चाडवाडमा जुवा खेल्न विभिन्न क्षेत्रका हस्तीहरू जस्तै कीर्तिनिधि विष्ट, भुवनेश्वर खत्री, कुवेर शर्मा, हर्क गुरुङ, कुमार खड्गविक्रम शाह, पुष्कर लोहनी, देवेन्द्रराज उपाध्याय, मदनमणि दीक्षित, रविन्द्रनाथ रिमाल आदि आउने गर्दथे।
राज खान्दान तथा निकै सम्भ्रान्त परिवारमा चाडवाडको बेला हल्का तथा रमाइलो पाराले जुवा खेल्ने चलन हुन्छ। केही दिन अघि निर्मल निवासमा कोजाग्रत पुर्णिमाको रात एक जना पत्रकारले त्यहाँको ढोकामा धर्ना कसेर आज त्यहाँ निकै मानिस जम्मा भएका छन्।
मुलुकमा कुनै ठूलै राजनीतिक परिवर्तन हुन लागेको छ भनेर धेरैको नीद हराम पारेको दिन आखिर उनको खोज पत्रकारिताले कुनै ठोस कुरा पत्ता लगाउन सकेन। मेरो लाटो सोचमा कतै त्यो रात पनि पारिवारिक जम्घट र हल्का तथा रमाइलो जुवाको कार्यक्रम भएकोले परिवारका सदस्यहरू त्यहाँ आवत जावत गरेको देखेर ती पत्रकार भुक्किएका हुन सक्छन्।
जङ्गबहादुरले बेलायत यात्रा गरेर नेपाल फर्कंदा ठूलो परिमाणमा स्कच ह्विस्की लिएर आएका थिए रे। त्यो भन्दा पहिले यदाकदा काठमाडौँस्थित वृटिश रेजिडेन्सीबाट प्राप्त हुने विदेशी रक्सी उनको बेलायत यात्रा पश्चात् नै नियमित रूपमा आयात हुन थालेको हो।
बेलायत यात्राबाट फर्के पछि जङ्गबहादुरको थापाथली दरवारमा साँझ परेपछि उनका भाइ र भतिजाहरू विदेशी ह्विस्की पिउन पाउने आशामा त्यहाँ हाजिर हुन्थे रे। त्यतिबेला पनि प्रत्येक साँझ उनको भित्री बैठकमा उनी आफ्ना सात भाइहरूलाई राखेर पासा र तास खेल्थे रे र ह्विस्की पनि पिलाउँथे रे। उनले तास पनि बेलायतबाट ल्याएका थिए। सो बैठकको अँध्यारो कुनामा एउटा झुल हालेको पलङ थियो रे।
ह्वस्कीको नशामा उनी बेला बेलामा सो पलङ भित्र पसेर कुनै महिलासँग सम्भोग गरिरहेको आवाज आए पछि भाइहरू खुसुर पुसुर गर्दै खित्का छोडेर हाँस्थे रे। यो र यस्तै रोचक किस्साहरू पुरुषोत्तम शमशेरको एक पुस्तकमा पनि पढ्न पाइएको थियो। भन्नुको तात्पर्य के भने, त्यतिबेला पनि यी शासकवर्गको फुर्सदको समय जुवा, रक्सी र स्त्रीमा नै बित्दो रहेछ।
बेलायतमा पनि विभिन्न प्रकारले जुवा खेल्ने चलन पहिले देखि नै छँदै थियो। बेलायतले आफ्ना साम्राज्यहरूमा पुर्याएको सबैभन्दा ठूलो जुवाको साधन घोडा दौड थियो। यसको निम्ति कैयन् साम्राज्यहरूमा घोडा दौडका मैदान र ट्र्याकहरू बनाइएका थिए। भारतमा अझै पनि त्यस्ता रेसकोर्सहरू छन्।
तर नेपालमा भने रेसकोर्स बनेनन्। यसको कारण नेपालमा जनतालाई थिचोमिचो गरेर रैती बनाएर राखेकाले र ती रैतीहरू निकै गरीव भएकाले त्यस्ता रेसकोर्समा बाजी राखेर आनन्द लिन सक्ने हैसियतका थिएनन् भने पैसावाला भारदार मुठ्ठीभर मात्र थिए।
नेपालमा पर्यटन प्रवद्र्धनको निम्ति भनेर काठमाडौँ लगायत महत्वपूर्ण शहरहरूमा अवस्थित ठूला होटेलहरूमा विदेशी मनोरञ्जनको निम्ति क्यासिनो खोलिएका छन्।
भारतीय र चिनियाँ पर्यटकको वाहुल्य हुने यी क्यासिनोमा नेपाली जुवाडेहरू पनि गैरकानुनी तवरले पसेर अहोरात्र जुवा खेली नै रहेका हुन्छन् भने अधिकांश मानिस जुवामा हार्छन् पनि। कतिपयले त आफ्नो सम्पूर्ण धन क्यासिनोमा हारेका छन् र ती मध्ये कैयन्ले आत्महत्या समेत गरेका छन् रे।
नेपालमा होस् वा नेपाल बाहिर बस्ने हुन्, धेरै नेपालीहरूको समय कटाउने प्रमुख साधन जुवा र त्यसमा पनि तासको प्रचलित खेला म्यारेज भएको छ। अलिक पुरानिया तथा वृद्ध खेलाडिहरू पासामा पनि रमाउँछन्।
यसै गरी इन्टरनेट मार्फत अनलाइन जुवा खेल्ने नेपाली पनि प्रसस्तै छन्। हिजोआज पनि दशैँतिहार तथा अन्य प्रमुख चाडहरूमा जुवा खेल्ने प्रचलन छँदैछ। बालक तथा युवाहरूमा लङ्गुर बुर्जा पनि लोकप्रिय छ।
विश्वकप फुटबल वा अन्य लोकप्रिय खेलहरूमा कसले जित्छ भनेर बाजी राख्ने चलन विश्वभरी नै छ। त्यस्तै विश्वका खासगरी विकसित राष्ट्रहरूमा ‘लोट्टो’ र अन्य नामका चिट्ठाहरू खेलेर रातौं-रात धनी हुने चाहना बोकेका मानिसहरू पनि प्रसस्त हुने गर्दछन्।
जुवा एक नराम्रो र अप्रिय अम्मल भएकोले यसबाट सकेसम्म टाढा रहनु नै उचित हुन्छ। यदाकदा चाडबाडमा जुवा खेल्दा पनि जिम्मेवारीपूर्ण तवरले थोरै रकम मात्र हारजित हुने गरी खेल्दा राम्रो।
-लेखक विकास अर्थशास्त्री एवम् एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment