अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौंको सरकारी सामग्री निजी निवासतर्फ सारिएको खुलासा

डिसी नेपाल
८ कार्तिक २०८२ ७:४७
180
Shares

सर्लाही। प्रदेशिक अस्पताल मलंगवा सर्लाहीका प्रमुख डा. संजीव कुमार सिंह यही कार्तिक १७ गते अवकाश हुन लागेका छन्। तर, अवकाशपूर्व नै उनले अस्पतालमा रहेका र विभिन्न सप्लायर्समार्फत खरिद गरिएका लाखौं मूल्यका सरकारी सामग्रीहरू आफ्नो निजी प्रयोगका लागि सारेको आरोप लागेको छ।

अस्पतालका स्रोतका अनुसार, डा. सिंहले गएको शनिवार र शुक्रबार अस्पताल परिसरमा रहेका तथा केही व्यापारीहरूसँगको मिलेमतोमा मँगाइएका पलंग, दराज, डस्ना, पंखा, कुलर लगायतका सामग्रीहरू अस्पतालको गाडीमार्फत बिरगञ्जस्थित आफ्नै निजी निवासमा पठाएका हुन्।

साक्षीका रूपमा रहेका केही कर्मचारीहरूले अस्पतालको आधिकारिक गाडीमा ती सामग्रीहरू लोड गरी बाहिर पठाइएको पुष्टि गरेका छन्। ती सामग्रीहरू अस्पतालको आवश्यकताका लागि खरिद गरिएका थिए भने उनीहरूले ‘अवकाशअघि नै अस्पतालका सम्पत्ति आफ्नो स्वार्थमा प्रयोग गर्ने तयारी भएको’ आरोप लगाएका छन्।

घटनाबारे जानकारी लिँदा अस्पतालका अन्य चिकित्सक तथा कर्मचारीहरूले समेत आक्रोश व्यक्त गर्दै यसबारे तत्काल छानबिनको माग गरेका छन्।
उनीहरूले भने, ‘अस्पतालका नाममा खरिद गरिएका वस्तुहरू निजी घरतर्फ लैजानु दुरुपयोगको स्पष्ट उदाहरण हो। यसमा सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्छ।’ भन्दै आक्रोश प्रकट गरेका छन्।

यस घटनापछि अस्पतालभित्र चर्को आलोचना भएको छ। केही कर्मचारीहरूले भने अस्पताल प्रशासन र स्वास्थ्य कार्यालय मधेस प्रदेशले तत्काल छानबिन टोली गठन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

उता, प्रमुख डा. संजीव कुमार सिंहसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन। स्थानीय स्रोतका अनुसार, डा. सिंहले प्रमुखको पदमा रहँदा अस्पतालका कामकाजमा विवाद र अनियमितता बढ्दै गएको गुनासो पनि बारम्बार उठ्दै आएको थियो। अब अवकाशपूर्व नै सरकारी सामग्री निकालिएको घटना बाहिरिएपछि अस्पताल प्रशासनको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *