रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न महाधिवेशन आवश्यक छ: नेता पौडेल

डिसी नेपाल
१२ कार्तिक २०८२ ८:१६
20
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।

‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,’ उनले भने ।

अहिलेको कार्य समितिको म्याद थप्न लागिएको त होइन भनेर धेरै कार्यकर्ताबाट आशंकासहितको जिज्ञासा आफुले सामना गरिरहेको भन्दै उनले यसमा आफ्नो समर्थन नरहने बताए ।

महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ संकेत गर्दै केन्द्रीय सदस्य पौडेलले परिवर्तित अवस्थामा जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन आवश्यक रहेको बताए ।

वर्तमान कार्य समितिको कार्यकालसमेत सम्पन्न हुन लागेका बेला म्याद थप्ने कुरामा असहमत नेता पौडेलले विशेष महाधिवेशन माग गरेका साथीहरुको चासोसमेत यसले सम्बोधन गर्ने बताए । उनले भने, ‘समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौं ।’

उनले कांग्रेस भित्र एकता कायम हुन आन्तरिक विवाद अन्त्य हुन आवश्यक रहेको भन्दै पार्टीभित्र आम एकता कायम गर्ने पनि महाधिवेशन हुनैपर्ने बताए ।

‘नेपाली कांग्रेस भित्र एकता कायम हुन जरुरी छ, आन्तरिक विवाद अन्त्य हुन जरुरी छ । आन्तरिक विवाद त्यतिवेला अन्त्य हुन्छ जतिवेला विवादहरुको समाधान विधिसंवत ढङगबाट गरिन्छ । त्यसैले विधिसम्बत ढङगबाट आन्तरिक विवाद अन्त्य गर्ने उपाए पनि महाधिवेशन मात्र हो । पार्टीभित्र आम एकता कायम गर्ने पनि महाधिवेशन नै हो,’ उनले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *