प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने रास्वपाको निर्णय

डिसी नेपाल
१२ कार्तिक २०८२ १२:४६
208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ। रास्वपा सचिवालयको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो।

कात्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय भएको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरिएको उनले बताएका छन्।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि रास्वपाले सहजीकरण अभियान सञ्चालन गर्ने भएको छ।’निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कात्तिक मसान्तसम्मको लागि समयसीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ सम्म संचालन गर्ने निर्णय गरियो,’ महामन्त्री बुर्लाकोटीले बैठकपछि भने।

रास्वपाले जेनजी आन्दोलनपछिको परिस्थितिको विषयमा कात्तिक १४ मा बृहत राजनीतिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *