राजनीतिक अन्यौलता र आर्थिक अनिश्चितताबीच चौधरी ग्रुपले भित्रायो ठूलो वैदेशिक लगानी

डिसी नेपाल
१२ कार्तिक २०८२ १७:११
296
Shares

काठमाडौं । देशमा राजनीतिक अन्यौल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपीरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्रयाएको छ।

चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको हो।

बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन्। समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिती थियो।

हालैको जेन जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो। सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो।

उक्त घटनापछि ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका वावजुद सीजीको नेपालप्रतिको प्रतिवद्धतामा कमि नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोंचका साथ अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए। उक्त घटनाको करिव डेढ महिना वितिरहदा चौधरीले ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्रयाएको हो।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन गरिनेछ। यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन्।

यस प्लान्टमा पहिलो चरणमा करिव ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिव चार सय रोजगारी श्रृजना हुनेछ। शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ’नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ। यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिवद्धतालाई व्यवहारमा पुनः पुष्टि गर्दछ।’

निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास पनि प्रवन्ध निर्देशक चौधरीले व्यक्त गरे। उक्त प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू श्रृजना हुनेछन्। प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्‍याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए।

चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फुड्स नेपालको अग्रणी फुड उत्पादक कम्पनी हो। सीजी फुड्सका उत्पादन ६३ देशहरूमा फैलिएका छन्। विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सिजी फुड्सले अब नयाँ–नयाँ उत्पादन वर्गहरूमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणलाई बल पुर्‍याइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *