नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, वार्षिक आम्दानी ३९ अर्ब नाघ्यो

डिसी नेपाल
३१ साउन २०८३ १२:१५

काठमाडौं। नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा आफ्नो सञ्चालन आय र खुद मुनाफा दुवैमा उल्लेखनीय वृद्धि हासिल गरेको छ

कम्पनीद्वारा सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कुल सञ्चालन आय ३.१२ प्रतिशतले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ मात्र रहेको थियो। त्यसै गरी कम्पनीको कुल आय पनि २.६५ प्रतिशतले वृद्धि भई ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ कायम भएको छ

वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार आएको देखिएको छ। यस अवधिमा कम्पनीको इबिल्डा  १०.७३ प्रतिशतले बढेर २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ भने कर अघिको मुनाफा ३४.६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ

समीक्षा अवधिमा टेलिकमले ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आवको ६ अर्ब ६७ लाख रुपैयाँको तुलनामा ४७.५८ प्रतिशत अर्थात् २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढी हो। यससँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा कायम भएको छ

कम्पनीका अनुसार बजारमा ब्याजदर घट्दै जाँदा ब्याज आय करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको भए तापनि जीएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँले बढेकाले कुल आम्दानीमा सकारात्मक प्रभाव परेको हो

राष्ट्रको प्रमुख सञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले लागत बढी र प्रतिफल कम आउने विकट तथा दुर्गम क्षेत्रहरूमा समेत सेवा विस्तार र गुणस्तर सुधारका कार्यहरूलाई निरन्तरता दिइरहेको जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *