गुगलद्वारा पिक्सेल ११ सिरिज सार्वजनिक, चार नयाँ स्मार्टफोन बजारमा
काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो बहुप्रतीक्षित ‘पिक्सेल ११’ सिरिज बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिजअन्तर्गत पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चारवटा नयाँ मोडलहरू सार्वजनिक गरेको हो।
नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको शक्तिशाली ‘टेन्सर जी६’ (Tensor G6) चिपसेट प्रयोग गरिएको छ। साथै, यी फोनहरूमा आईपी६८ वाटर तथा डस्ट रेजिस्टेन्स रेटिङ, थप क्षमतायुक्त जेमिनी एआई र अपग्रेड गरिएको ५एक्स टेलिफोटो क्यामेरा समावेश गरिएको छ।
डिजाइनका हिसाबले पिक्सेल ११ सिरिज अघिल्लो पिक्सेल १० भन्दा धेरै फरक नरहे पनि गुगलले नयाँ रङहरू भित्र्याएको छ। यस पटक फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याक जस्ता आकर्षक रङहरू उपलब्ध गराइएको छ।
पिक्सेल ११: क्यामेरा र ब्याट्रीमा ठूलो सुधार
पिक्सेल ११ को क्यामेरा प्रणालीमा उल्लेख्य सुधार गरिएको छ। यसको क्यामेरा बम्प अघिल्लो पिक्सेल १० को तुलनामा ४० प्रतिशतभन्दा बढी पातलो बनाइएको छ। फोनको पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड र १०.८ मेगापिक्सेलको ५एक्स टेलिफोटो क्यामेरा राखिएको छ भने अगाडि १०.५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ।
गुगलका अनुसार ४८ मेगापिक्सेलको मुख्य क्यामेराले अघिल्लो मोडलको तुलनामा ५६ प्रतिशत बढी प्रकाश ग्रहण गर्न सक्छ। ५एक्स टेलिफोटो क्यामेराबाट ३० एक्ससम्म ‘सुपर जुम’ गर्न सकिनेछ।
पिक्सेल ११ को ब्याट्रीले ३० घण्टाभन्दा बढी ब्याकअप दिने र वायरलेस चार्जिङ पिक्सेल १० को तुलनामा २५ प्रतिशत छिटो हुने दाबी गरिएको छ।
यसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ। अघिल्लो मोडलको तुलनामा मूल्य १०० डलर बढे पनि नयाँ मोडलको आधारभूत भेरियन्टमै २५६ जीबी स्टोरेज र १२ जीबी र्याम उपलब्ध हुनेछ। यो फोन अगस्ट २० देखि बिक्रीका लागि उपलब्ध हुनेछ।
प्रो मोडल: ‘हाइलाइट’ फिचर र उच्च ब्राइटनेस
पिक्सेल ११ प्रो र पिक्सेल ११ प्रो एक्सएलको क्यामेरा बारमै नयाँ ‘हाइलाइट’ नामक एलईडी इन्डिकेटर राखिएको छ। यसले जेमिनी एआईसँगको अन्तरक्रिया तथा महत्त्वपूर्ण सम्पर्कबाट आउने कल तथा म्यासेजहरूको संकेत दिनेछ।
पिक्सेल ११ प्रोको डिस्प्लेमा ३,६०० निट्ससम्मको पिक ब्राइटनेस रहेको छ। क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ४८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा दिइएको छ, जसबाट १२० एक्ससम्म ‘प्रो जुम’ गर्न सकिन्छ। सेल्फीका लागि ४२ मेगापिक्सेलको क्यामेरा राखिएको छ।
प्रो सिरिजले ३० घण्टाभन्दा बढी ब्याट्री ब्याकअप दिनेछ भने यसको वायरलेस चार्जिङ २९ प्रतिशतभन्दा बढी छिटो हुनेछ। पिक्सेल ११ प्रोको सुरुवाती मूल्य १,०९९ डलर र प्रो एक्सएलको १,२९९ डलर तोकिएको छ। २५६ जीबी स्टोरेज भेरियन्टमा १२ जीबी र्याम तथा ५१२ जीबी र १ टीबी स्टोरेज भेरियन्टमा १६ जीबी र्याम उपलब्ध हुनेछ।
पिक्सेल ११ प्रो फोल्ड: पातलो बेजल र बलियो बनावट
गुगलले आफ्नो नयाँ फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड पनि सार्वजनिक गरेको छ। यसमा पिक्सेल सिरिजकै अहिलेसम्मकै पातलो बेजल प्रयोग गरिएको छ भने अघिल्लो पिक्सेल १० प्रो फोल्डको तुलनामा यो तीन गुणा बढी टिकाउ रहेको दाबी गरिएको छ।
यसको दुवै डिस्प्ले अघिल्लो पुस्ताको तुलनामा २० प्रतिशत बढी चम्किला छन् र भित्री डिस्प्लेले ३,६०० निट्ससम्म ब्राइटनेस दिन सक्छ। टेन्सर जी६ चिपसेटयुक्त यस फोनमा २४ घण्टासम्मको ब्याट्री ब्याकअप पाइनेछ। क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल (३०एक्स जुम) टेलिफोटो क्यामेरा छ।
ओलिभ र ब्ल्याक गरी दुई रङमा उपलब्ध पिक्सेल ११ प्रो फोल्डको सुरुवाती मूल्य १,८९९ अमेरिकी डलर तोकिएको छ। यसमा २५६ जीबी स्टोरेज र १६ जीबी र्याम रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment