अचानक आएको बाढीमा भारतीय सेनाका पाँच जवान बेपत्ता, चार मजदुरको मृत्यु

डिसी नेपाल
३१ साउन २०८३ १२:५४

काठमाडौं । अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्।

दिबाङ भ्यालीकी अतिरिक्त जिल्ला उपायुक्त ज्याली उम्पोले बाढीमा मानिसहरू बेपत्ता भएको पुष्टि गर्दै भनिन्, ‘बाढीको यो घटना शुक्रबार अपराह्न करिब साढे ४ बजेतिर भएको हो।’

‘यो क्षेत्र अन्तर्राष्ट्रिय सीमा नजिकै पर्छ। अचानक आएको बाढीमा सेनाका कुल ७ जना बगेका थिए, तर दुई जनालाई सकुशल उद्धार गरिएको छ। हाल बेपत्ता रहेका पाँच जवानको खोजीका लागि सेना, एनडीआरएफ, एसडीआरएफ र जिल्ला प्रशासनका धेरै टोलीहरूले संयुक्त उद्धार अभियान चलाइरहेका छन्,’ उनले थपिन्।

राज्य आपत्कालीन सञ्चालन केन्द्रका एक अधिकारीका अनुसार शुक्रबार अचानक आएको बाढीले दिबाङ उपत्यका जिल्लामा रहेको सैन्य शिविरका दुई वटा आश्रयस्थल (शेल्टर) बगाएको थियो। अतिरिक्त जिल्ला उपायुक्त उम्पोले बाढी आउनुको मुख्य कारण बादल फुट्नु रहेको बताएकी छन्।

अविरल वर्षापछि एउटा ठूलो खोलामा अचानक बाढी आएको र त्यसले आसपासको दिबाङ भ्याली क्षेत्र डुबानमा पारेको उनले जानकारी दिइन्।

बेपत्ता भएका सबै जवानहरू सेनाको ५ औँ ग्रेनेडियर्स बटालियनका हुन्। उनीहरूको नाम उपेन्द्र, कुन्दन, विनोद, आदित्य र समुन्डा रहेको बताइएको छ।

यसैबिच, अपर (माथिल्लो) सुबन्सिरि जिल्लामा भएको अर्को घटनामा केओजारिङ-ब्याचिङ सडक निर्माण क्षेत्रमा भीषण पहिरो जाँदा कैयौँ मजदुरहरू गेगर र माटो मुनि पुरिएका छन्।

उक्त पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृतकहरूको पहिचान ताडु बाकी, ताजी राय, मार्कोस बसुमतारी र बाबुल अलीका रूपमा भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *