नागपञ्चमी र नाग पूजा
नेपाली समाजमा मनाइने मौलिक चाड पर्वहरु मध्ये अत्यन्तै श्रद्धा र भक्तिका साथ मनाइने नाग पञ्चमी पनि एक हो । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा नाग (सर्प) को पूजा आराधना गरिन्छ । भविष्य पुराण अनुसार सर्पको भयबाट बच्नका लागि मनसा देवी र आस्तिक मुनिको स्मरण गर्ने गरिन्छ । नाग पञ्चमी वा सर्प पूजाको चलन वैदिक कालदेखि नै रहेको पाइन्छ । ऋग्वेद र विशेष गरी यजुर्वेदमा सर्प तथा नाग देवताहरूको बारेमा मन्त्र र उनीहरूको पूजाका विधिहरूको उल्लेख पाइन्छ । यसरी हेर्दा सनातन हिन्दु धर्म संस्कृतिले प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्धलाई जोड दिएको पाईन्छ । नाग पञ्चमीका दिन यो श्लोक प्रार्थना गर्दा सर्पको डर नहुने र सुख शान्ति पाइने कथन छ । आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी : एध्येहि मनसा देवी नागमार्तनमस्तुते ।।
भविष्य पुराणका अनुसार, नाग पञ्चमीको पूजा गर्दा वा ढोकामा फोटो टाँस्दा निम्न मन्त्र उच्चारण गर्ने परम्परा छ । “सर्वे नागा: प्रीयन्तां मे ये केचित् पृथिवीतले । ये च हेलिमरीचिस्था ये अन्तरीक्षे दिवि श्रिता:।। ये नदीषु महानागा ये सरस्वतिगामिन: । ये चापि तडगेषु प्रीयनतांमे सर्व नागा :“ अर्थात पृथ्वीमा भएका , आकाशमा रहेका, सूर्यको किरणमा, नदीमा सरोवरमा र तलाउमा भएका, अन्तरिक्ष र स्वर्गमा बस्ने सम्पूर्ण नागहरू हामीप्रति प्रसन्न हुनुहोस् । यो श्लोक वाचन गरेर नागराजलाई पूजाआजा गरेमा कालसर्पदोष समेत शान्त हुन्छ भन्ने पौराणिक मान्यता छ । नाग केवल सर्प मात्र होइन, यो जलको, पृथ्वीको रक्षक र कुण्डलिनी शक्तिको प्रतीक पनि हो ।
नाग पञ्चमीको धार्मिक तथा सांस्कृतिक महत्व
आराध्य देव भगवान शिवको गलामा विभूषित र भगवान विष्णु शयन गर्ने शेष नागहरुलाई वैदिक सनातन परम्परामा जल र वर्षाको कारक मानिन्छ । कृषिमा आधारित नेपाली समाजका लागि समयमा बर्षा हुनु अति आवश्यक हुन्छ । नाग प्रसन्न भएमा अतिवृष्टि, अनावृष्टि र जलसङ्कट पर्दैन भन्ने धार्मिक विश्वास रही आएको छ । यस दिन घरको मुख्य ढोकामा नागको चित्र टाँस्ने र विधिपूर्वक पूजा गर्ने परम्परा छ । नागको चित्र टाँसेर वा जल–अक्षता चढाउँदा नागहरूको नाम स्मरण गर्नाले घरमा सर्पको भय, अग्निभय र विषालु जीवजन्तुको डर रहँदैन भन्ने धार्मिक विश्वास छ ।
यस दिन विहान, गाईको गोबर, दुध, दुबो, अक्षता, धानको फूल र सिन्दूर प्रयोग गरी मूल ढोकामा नागको चित्र टाँसिन्छ,. नागलाई दुध, खीर, दुबो र फूल चढाएर पूजा गरिन्छ, नागका विभिन्न नामहरू (अनन्त, वासुकी, शेष, पद्म, कम्बला, कर्कोटक, अश्वतर, धृतराष्ट्र, शङ्खपाल, कालिय र तक्षक) को स्मरण गर्दै पूजा आराधना गरिने चलन रहि आएको पाइन्छ ।
पौराणिक कथा र सन्दर्भ
द्वापर युगको अन्त्य तीर अर्थात महाभारतका अनुसार पाण्डव वंशका उत्तराधिकारी तथा राजा जन्मेजयका पिता राजा परीक्षितलाई शृंगी ऋषिको श्रापका कारण नागहरूको राजा तक्षक नागले डसेर मारेको थियो । त्यसको प्रतिशोधको स्वरुप आफ्ना पिताको अकास्मात् र छलपूर्ण मृत्युको बदला लिन तथा सम्पूर्ण नागकुलको विनाश गर्न राजा जन्मेजयले एक विशाल ’सर्प यज्ञ’ को आयोजना गरेका थिए ।
यो कुनै साधारण यज्ञ थिएन, यस यज्ञमा मन्त्रहरूको तीव्र शक्तिका कारण संसारभरिका सर्पहरू स्वतः आकर्षित भई आफैं आएर हवनकुण्डको अग्निमा परेर मर्न थाले । मन्त्रहरूको प्रभाव यति शक्तिशाली थियो कि तक्षक नाग पनि आफ्नो प्राण बचाउन स्वर्गका राजा इन्द्रको शरणमा पुगेका थिए । यो देखेपछि ऋत्विजहरूले इन्द्रसहित तक्षकलाई नै मन्त्रको बलमा हवनकुण्डमा तानेर आहुति दिन खोजेका थिए।
जब सम्पूर्ण नागकुल नष्ट हुने अवस्था आयो, तब देवता र ऋषिमुनिहरू चिन्तित भए। महर्षि जरत्कारू र देवी सर्पराज भगिनीका पुत्र आस्तिक मुनि पनि त्यो यज्ञमा उपस्थित भए । आस्तिक मुनिले आफ्नो सुमधुर वाणी र शास्त्रज्ञानद्वारा राजा जन्मेजयलाई प्रसन्न गरे। राजा जन्मेजयले उनलाई वरदान माग्न आग्रह गरे, तब आस्तिक मुनिले ‘यो सर्प यज्ञ रोकियोस् र नागहरूको ज्यान बचाइयोस’ भनी प्रार्थना गरे ।
संसारका सम्पूर्ण सर्पहरू उक्त यज्ञको अग्निमा भस्म हुन लाग्दा ऋषि आस्तिकले सर्पहरूको रक्षा गरेका थिए । सर्पहरूले जीवनदान पाएको सोही दिन श्रावण शुक्ल पञ्चमी भएकाले त्यसै दिनदेखि नाग पञ्चमी मनाउन थालिएको भन्ने कथन पनि पाइन्छ ।
नाग र देवताहरूको सम्बन्ध
सम्पूर्ण नागकुलका राजा शेष नाग (अनन्त नाग)लाई भगवान् विष्णुको आसन र शय्या मानिन्छ। क्षीरसागरमा भगवान् विष्णु अनन्त नागको फणको छातामुनि शयन गर्नुहुन्छ । भगवान् शिवले आफ्नो गला वा शरीरमा वासुकी नागलाई आभूषणका रूपमा धारण गर्नुभएको छ। यसले के दर्शाउँछ भने डरलाग्दा र विषालु मानिने जीवहरू पनि ईश्वरीय सान्निध्यमा शान्त र पवित्र हुन्छन् । भनिन्छ देवता र दानवहरूले मिलेर गरेको समुद्र मन्थनका बेला मन्थन गर्ने नेतीकोे रूपमा वासुकी नागलाई नै प्रयोग गरिएको थियो।
त्यस्तै, काठमाडौँ उपत्यकाको उत्पत्ति र जल निकाससँग पनि नागहरूको कथा जोडिएको छ। उपत्यकामा पानीको सङ्कट वा अतिवृष्टि रोक्न नागहरूको पूजा गर्ने परम्परा प्राचीन कालदेखि नै चल्दै आएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नागदह र तीर्थस्थलहरू
नाग पञ्चमीका दिन विशेष मेला लाग्ने र दर्शन गरिने प्रमुख स्थानहरूः टौदह (काठमाडौँ): पौराणिक मान्यता अनुसार काठमाडौँ उपत्यकाको पानी बाहिर पठाउँदा नागहरूलाई बस्नका लागि यो दह बनाइएको मानिन्छ । नागदह (ललितपुर): धापाखेलमा रहेको यो दहमा नाग पञ्चमीका दिन ठूलो मेला लाग्छ । नागपोखरी (काठमाडौँ): नक्सालमा रहेको नागपोखरीमा नागको अग्लो मूर्ति रहेको छ जहाँ विशेष पूजा हुन्छ । सिद्धपोखरी (भक्तपुर) : यहाँ पनि नाग पञ्चमीका दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्छ।
निष्कर्ष
नाग पञ्चमी कर्मकाण्ड वा धार्मिक पूजामा मात्र सीमित छैन । यसले वातावरण संरक्षण र जैविक विविधताको पनि सम्मान गरेको छ । सर्पले पर्यावरणीय चक्र(भ्अयकथकतझ) लाई सन्तुलनमा राख्न र बालीनाली नष्ट गर्ने कीरा–फट्याङ्ग्रा तथा मुसा खाएर किसानहरुलाई मद्दत गरेको पाइन्छ ।
बर्षा याममा सर्पको टोकाइको जोखिम बढी हुने भएकाले यो समयमा सरसफाइ गर्ने, सजग रहने र प्रकृतिको यो जीवलाई नमारेर सम्मान गर्ने परम्परा बसालिएको हो । त्यसैले, हाम्रा पूर्वजहरूले प्रकृतिका यी महत्वपूर्ण जीवको संरक्षणका लागि धार्मिक परम्परामार्फत सजग गराएका हुन्।
No ads found for this position


Facebook Comment