भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ

डिसी नेपाल
२० कार्तिक २०८२ १८:१०
1.2k
Shares

सर्लाही । नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।

मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चौक नजिकै पिलर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन्।

पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवा र उनको साथमा रहेका युवक सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ।

उनीहरूको साथबाट बिना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटी, दुई मोबाइल फोन र तीन देशका सिम कार्ड (भारत, नेपाल र उज्बेकिस्तान) बरामद गरिएको थियो। तर सोफियाको साथमा पासपोर्ट वा भिसा जस्ता कुनै आधिकारिक कागजात फेला परेको छैन।

एसएसबीका अनुसार प्रारम्भिक अनुसन्धानमा सोफिया उज्बेकोवा काठमाडौं हुँदै सर्लाहीको मलंगवा पुगेकी र त्यहाँबाट सोनवर्षा सीमाना पार गरी भारतको दिल्ली जाने तयारीमा रहेको खुलेको छ।

सो यात्रामा उनलाई नेपाली युवक विकेशले सहयोग गरिरहेको एसएसबीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *