कविता : एउटा परदेशी

सुशील लामा
२३ कार्तिक २०८२ १२:४४
48
Shares

एउटा परदेशी-
मन अल्झाएर
पुरानो आधा बोर्डिङ पासको टुक्रामा
आकाशमा उडी रहेको विमान हेरेर
अनायास टोलाई रहेको छन्
नयन सजल बनाउँदै
बिरानो बैराग लाग्दो
परदेशी बार्दलीको आडमा उभिएर।

एउटा परदेशी !
बिहान-
घाम उठ्नु अगावै उठ्छन्
अधुरो सपनालाई
चिसो ओछ्यानमा बेवारिसे छोडेर
बेलुका नै पोको पारी राखेको
खानाको पोको बोकेर
हतार-हतार कुद्छन्
लेबर बसको झ्याल छेउको सिट पाउन

एउटा परदेशी-
निरन्तर खटी रहन्छन्
थकाइलाई बिसाएर
भोक र प्यास लत्याएर-
नबुझ्ने भाषामा
अन्तै कतैको मान्छेको दिएको थुप्रै गाली खेपेर
उ सकिनसकी दली रहन्छन्
सुदूर सफल सपनाको खातिर
आफ्नो यौवन अवस्था खपत गरी रहन्छन्
पराई भूमिमा बनेर परदेशी-

एउटा परदेशी
लखतरान भएर ढल्छ्न चिसो ओछ्यानमा
भिडियो कलमा आमासँग बोल्दा-बोल्दै
निदाउँ छन् मोबाइल सँगै
एउटा परदेशी
रगतपसिना बेची-बेची पाली रहेका छन् देश
एउटा परदेशी
प्रतिकुल मौसम सहन नसकेर
कुबेला मै ढलेर
रातो बाकस बनेर फर्कँदै छन्
एउटा परदेशी
काम गर्दागर्दै दुर्घटनामा परेर
आधा जिन्दगी बोकेर
ह्विल चेयर चढेर
फर्कँदै छन् घर।
एउटा परदेशी
एउटा होइन
अनेकौं कुराबाट बिछोडिएर
आफ्नो आधा जिन्दगी
अरुको देशमा छुटाउँदै छन्-
एउटा परदेशी ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.