चुनाव लोकतन्त्रको प्राण वायु हो, बैठकबाट कांग्रेसले निर्वाचनमा जाने निर्णय गर्छ : नेता महर

डिसी नेपाल
२४ कार्तिक २०८२ १३:३३
16
Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चुनाव लोकतन्त्रको प्राणवायु भएकाले २१ फागुनमै निर्वाचन सम्पन्न गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको १११औं जन्म जयन्तीका अवसरमा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन्।

उनले निर्वाचन कांग्रेसको न्यूनतम सर्त भएकाले आवधिक चुनावबीना लोकन्त्र बलियो नहुने धारणा राखेका छन्। ‘नेपाली कांग्रेस लोकतन्त्रको पर्यायवाची पार्टी हो। त्यसैले पछिल्लो जेनजी संघर्षपछि निर्माण भएको परिस्थिति जन्य फागुन २१ गतेको चुनावका लागि कांग्रेस तयार हुनुपर्छ। कांग्रेस तयार छ,’ उनले भने।

कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीले चुनावको खिलाफमा जाने वा विकल्प खोज्ने कुरा सोच्न पनि नसक्ने उनको भनाइ छ। कतैबाट संसद पुनर्स्थापनाका आवाज, संसद विघटन असंवैधानिक भन्ने आवाज नेपालको संविधानलाई ध्यान राखेर व्यक्त भएका विचार भए पनि जेनजी प्रदर्शनपछि उब्जीएको नयाँ परिस्थितिको सम्बोधन निर्वाचनमा जानु नै रहेको उले प्रस्ट पारेका छन्।

‘वर्तमान परिस्थितको राष्ट्रिय राजनीतिक सम्झौता भनेको नै नयाँ सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने हो। तोकिएको मितिमा चुनाव गर्नेभन्दा दाँयाबाँया जाने अधिकार कांग्रेसलाई छैन। त्यसैले कांग्रेसको चालु केन्द्रीय समिति बैठकले एकढिक्का भएर २१ फागुनमा चुनावमा जाने निर्णय गर्छ। प्रजातान्त्रिक व्यवस्था बचाउन र देशलाई थप क्षति हुन नदिन यो निर्णय अतिआवश्यक पनिछ,’ उनले भने।

नेपालको संविधानमा लिक आउट भएका धाराहरूलाई पनि सक्रिय पार्ने र पुन: व्यवस्था सञ्चालन गर्दै जनताको अधिकार जनतामै स्थापित गर्ने उपयुक्त बाटो चुनाव नै भएकाले त्यसको विकल्पमा जान नहुने उनले बताए। ‘चुनावका माध्यमले जनताले कसलाई शासनमा राख्न चाहन्छन्? भन्ने जनताको अधिकार हो। कुनै पनि देशमा नयाँ परिवर्तन भइसकेपछि छिटोभन्दा छिटो चुनावका माध्यमले नयाँ सरकार बन्ने र जनताले त्यसका प्रति आफ्नो राय दिने परिस्थिति रहन्छ,’ उनले भने।

यसका साथै उनले सरकारको रवैया चुनावकेन्द्रित कम देखिएको टिप्पणी गरेका छन्। अझैँ लुटिएका हतियार नियन्त्रणमा लिने, भागेका हजारौं कैदीलाई नियन्त्रणमा लिने, सुव्यवस्थित गर्ने कुरामा सरकारको चासो र ध्यान केन्द्रित हुन नसकेको उनको आरोप छ।

‘यो सरकार त नियमित सरकार जस्तै सय दिनको हनिमुन पिरियड बनाएर अगाडि बढ्न खोज्दैछ। पुर्वाग्रही ढंगले प्रशासनमा हुँदा बाँकि रहेका तुस साध्ने काम गरिरहनु भएको छ। यो गलत हो। सरकार चुनाव केन्द्रित हुनुपर्छ। यसको म्यान्डेट पनि त्यही हो,’ उनले भने। नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले निर्वाचनको वातावरणमा सहयोग पुर्‍याउन सक्रिय रहने उनले प्रस्ट पारे।

वर्तमान सरकार अर्बौको भ्रष्टाचारको दलदलमा फसेको छ भन्ने आरोप सञ्चारमाध्यम र बौद्धिक जमातले गरिरहेकाले त्यो दुखद्पूर्ण भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.