खाँडादेवी : राजधानी नजिकै धार्मिक यात्राको उपयुक्त स्थल

डिसी नेपाल
२५ कार्तिक २०८२ १४:३२
24
Shares

रामेछाप। काठमाडौं उपत्यका तथा तराई क्षेत्रबाट समेत एक दिनको तीर्थयात्रा गर्नेको लागि रामेछापको खाँडादेवी मन्दिर उपयुक्त तीर्थस्थल बनेको छ।

राजधानी काठमाडौंबाट ४ घण्टाको यात्रामा पुगिने खाँडादेवी मन्दिरसम्म सबै खालका यातायात साधन पुग्ने भएकोले बच्चा देखि ज्येष्ठ नागरिकसम्मको लागि यो उपयुक्त तीर्थस्थल बनेको छ।

काठमाडौंबाट बिहान सवारीसाधनमा निस्कँदा खालि पेटमा नै मन्दिर दर्शन गर्न भ्याइने र दर्शन गरेपछि मन्दिरमा केही बेर रमाएर पुनः घर फर्कन सकिने भएकोले यो एक दिनको बिदामा घुम्न र दर्शन गर्न आउनेको लागि उपयुक्त तीर्थस्थल भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन्।

काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने आफ्नै सवारीसाधन भएकालाई पनि यो मन्दिर दर्शन गरेर जानको लागि पनि उपयुक्त छ।

बिपी राजमार्गको सित्खाबाट सुनकोसी नदीको पुल तरेर एक घण्टामा खाँडादेवी मन्दिर पुगिन्छ। मन्दिर दर्शन गरेर पुन सोही बाटो वा रामेछापको सदरमुकाम मन्थली हुँदै खुर्कोट निस्किएर पूर्व जान सकिने भएकोले नयाँ ठाउँ घुम्न चाहनेको लागि अवसर नै हुने स्थानीय अनिता राई बताउँछिन्।

सिन्धुली, महोत्तरी, धनुषा, सर्लाही लगायतका क्षेत्रबाट मन्दिर दर्शन गरेर एकै दिन घर फर्कन सकिन्छ। अग्लो डाँडामा भएकोले देवीको दर्शन र दृश्यावलोकनका लागि खाँडादेवी उपयुक्त स्थल रहेको छ। काठमाडौं पूर्वबाट बिपी मार्ग हुँदै काठमाडौं हिँडेकालाई यहाँ दर्शन गरे जानसमेत सहज हुने भएकोले खाँडादेवी बाटैको दर्शनस्थल जस्तो बनेको छ।

बाह्रै महिना पञ्चवली चढ्ने खाँडादेवीलाई मागेको कुरा पुरा हुने देवी मानिन्छ। आफूले मागेको कुरा पुरा भएपछि खाँडादेवीमा पञ्चवली र भाकल पूजा गर्ने प्रचलन रहेको पुजारीहरू बताउँछन्।

खाँडादेवीलाई किराँतकालीन मन्दिर मानिन्छ। यसको इतिहास निक्कै पुरानो छ। खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन्। यसले यो मन्दिरको ऐतिहासिक र पुरातात्विक महत्त्व झल्काउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.