प्रचण्ड भन्छन्- ओलीका हावा कुराले दिक्क भएर एमालेबाट सबै यता आउँछन्

डिसी नेपाल
२६ कार्तिक २०८२ १५:४३
12
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओलीले हावा कुरा गर्ने गरेकाले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्। बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्दै प्रचण्डले उक्त दाबी गरेका हुन्।

सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले भने, ‘नेकपा एमाले अध्यक्ष ओलीले हावादारी कुरा गर्ने गरेकाले एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने छन्। हालसम्म नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दल समाहित भइसकेका छन्।’

एमाले त्यागेर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका रावल आज औपचारिक रुपमा साँत बुँदे सहमति गर्दै प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।

सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ।

सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारी आपसी सहमतिमा तोक्ने र पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन पनि आपसी सहमतिमा तयार पार्ने उल्लेख छ।

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *