एकपछि अर्को विवादमा कांग्रेस

डिसी नेपाल
२७ कार्तिक २०८२ ७:२७
112
Shares

काठमाडौं। विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस यतिबेला आन्तरिक किचलोमा रुमल्लिएको छ। जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिबाट ओझेलमा परेको कांग्रेस सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा झन् अन्योलमा परको टिप्पणी हुन थालेको छ।

कांग्रेस यतिबेला संसद पुनःस्थापना कि चुनाव र विशेष महाधिवेशन कि नियमति महाधिवेशन भन्ने चर्को विवादमा परेको छ। पार्टीको १५औँ महाधिवेशन फागुन २१ गते अघि कि पछि वा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्नेबारे एक महिना गुजारीसकेको कांंग्रेस अझै निष्कर्षमा पुग्न सकेको छैन।

गत असोज २८ गतेदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठक महाधिवेशन केन्द्रित बहसमा छ। महाधिवेशनबारे विवाद जारी रहँदा पार्टीमा पुनः अर्को विवाद थपिएको छ।

प्रतिनिधिसभा पुनःस्थापनाका लागि भन्दै निवर्तमान प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा हस्ताक्षर सुरु भएपछि नेपाली कांग्रेसमा अर्को विवाद सुरु भएको हो।

घिमिरेको नेतृत्वमा शनिबारदेखि हस्ताक्षर अभियान सुरु भएपछि पार्टीभित्रको डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा समूहले तीव्र विरोध गरेका छन्। घिमिरेले विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने निर्णय लिन केन्द्रीय समितिमा बुझाउने प्रयोजनका लागि हस्ताक्षर संकलन सुरु गरेको बताउँदै हालसम्म ४५ जना निर्वतमान सांसदले हस्ताक्षर गरिसकेको दाबी गरे।

हस्ताक्षर संकलन सुरु गरेको जानकारी पाएपछि महामन्त्री थापाले सार्वजनिक रूपमै विरोध गरे। महामन्त्री थापाले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो निर्वाचन भएको उल्लेख गर्दै लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।’

इतर समूहका नेता डा.कोइरालाले पनि प्रतिनिधिसभा पुनःस्थापनामा लाग्न नहुने स्पष्ट पार्दै भनेका छन्, ‘अहिलेको अवस्थाको उपयुक्त निकास निर्वाचन हो। त्यसैतर्फ हामी लाग्नुपर्छ। पुनःस्थापनाले समस्याको निकास दिँदैन।’

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ। बैठकमा एक उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्रीले धारणा राख्न बाँकी छ ।

कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवाद टुंगो लगाउने बताइएकाे  छ। स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *