महामन्त्रीद्वयको विशेष महाधिवेशन मुद्दा बेमौसमी बाजा जस्तो : गोमा भट्टराई
नेपाली कांग्रेस यतिबेला आन्तरिक किचलोमा छ। विशेष महाधिवेशन कि, नियमित महाधिवेशन भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको हो। कांग्रेस संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा छ भने महामन्त्रोद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा छन्।
उनीहरूले विशेष महाधिवेशनका पक्षमा केन्द्रीय समितिमा हस्ताक्षर अभियान संकलन गर्नुका साथै विभिन्न दवावमूलक कार्यक्रम गरिरहेका छन्। यतिबेला कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठकमा पनि महाधिवेशनको विषय नै पेचिलो बनेको छ। हाल देश विषम परिस्थितिमा छ।
जेनजी आन्दोलनपछि देशले कांग्रेसको ठोस भूमिका खोजीरहेको छ। तर, कांग्रेसले त्यसतर्फ ध्यान दिन सकिरहेको जस्तो देखिँदैन। आज यही विषयमा केन्द्रित रहेर डिसी नेपालले कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईसँग संवाद गरेको छ।
देश विषम परिस्थितिमा हुँदा पनि तपाईंहरू देशको मुद्दामा केन्द्रीत हुनुभन्दा पनि कांग्रेसको १५औं महाधिवेशनको किचलोमा हुनुहुन्छ, तपाईंहरूभित्रको विवादको जरो के हो? तपाईंहरू कहाँ अल्झिराख्नु भएको छ?
नेपाली कांग्रेस ठूलो र ऐतिहासिक पार्टी हो। कुनै विषयको निकास मन्थनबाट निस्कन्छ। त्यसैले हामी विवादमा अल्झिएका छैनौं। १६५ जना केन्द्रीय सदस्य भएकाले सबैले आफ्नो धारणा राखिराख्नु भएको छ। हामी आन्तरिक छलफलमा छौं। हिजोको परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हो। कांग्रेसले पुन: ऐतिहासिक निर्णय गर्नेछ।
कांग्रेस देशको पुरानो शक्ति हुँदाहुँदै पछिल्लो समय राजनीतिक निकास दिनुपर्नेमा त्यस्तो गर्न सकिरहेको छैन। यसले जनतामा कतै कांग्रेस आफ्नो सिद्धान्तबाट च्युत हुँदै गएको होकि भन्ने संका पैदा भइरहेको छ नि?
फागुन २१ गते निर्वाचन हुँदैछ। हामी महाधिवेशन भन्दा पनि निर्वाचनमा होमिनुपर्छ भनेर आवाज उठाइरहेका छौं। नेपाली कांग्रेस निर्वाचनमा जाने छ। चुनाव हुनेमा कांग्रेस विश्वस्त छ। चुनाव भएन भने संविधान पनि रहँदैन भन्ने हामीले महशुस गरेका छौं।
नियमित महाधिवेशनको मिति नजिकिँदै गर्दा विशेष महाधिवेशनको मुद्दा तपाईंहरूको बेमौसमी बाजा जस्तो लाग्दैन?
मंसिर २४ गते हाम्रो वर्तमान केन्द्रीय समितिको अवधि सक्किँदै छ। यस्तो अवस्थामा विशेष महाधिवेशनको औचित्य छैन। तर, आयो। केही साथीहरूले विशेष महाधिवेशनको महसुस गर्नुभयो र त्यो एजेण्डा ल्याउनु भयो। उहाँहरूले हस्ताक्षर अभियान नै चलाउनु भयो।
लोकतन्त्रमा उहाँहरूको त्यो कदमको म स्वागत गर्न चाहन्छु। तर, जेनजीका मागलाई मध्यनजर गर्दै हामी नियमित महाधिवेशनमा जानुपर्छ। त्यसो गर्न सकेमा हाम्रा जेनजीहरू सहभागी हुन सक्छन्। विशेष महाधिवेशन हुँदा हामी पुराना महाधिवेशन प्रतिनिधिले मात्र भाग लिने अवस्था बन्छ। त्यसैले नियमित महाधिवेशनकै पक्षमा निर्णय हुनेमा म विश्वस्त छु। विशेष महाधिवेशनको आवस्यकता अहिले छैन भन्ने मेरो महशुस छ।
तपाईंले केन्द्रीय समिति बैठकमै महामन्त्री द्वयलाई विशेष महाधिवेशनको मुद्दा उचाल्नु भयो, त्यसको सार्थकता थिएन पनि भन्नु भएछ है?
हो। मैले त्यो भनेँ। सभापति शेरबहादुर देउवा उपचारका लागि अस्पतालमा भर्ना भएका बेला महामन्त्रीहरूले यो आवाज नउठाइदिएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लागेको हो। सभापतिज्यू आक्रमणमा परेर घाइते भएर बेडमा छटपटिएको बेलामा उहाँले केही गर्नु भएन भने जस्तो गरी बाहिर मिडियामा हामीले सुन्न पाउँदा हामीलाई दुःख लागेको छ। उहाँहरूले त्यो विषय किन उठाउनु भयो थाहा भएन। तर, उहाँहरूको यो माग बेमौसमकै बाजा जस्तो भएको छ।
पार्टीले पदाधिकारी र कार्यसम्पादन समिति बैठकबाट गर्ने निर्णय केन्द्रीय सदस्यलाई जानकारी नहुने र केन्द्रीय कार्यसमिति बैठकमा ताली बजाउनुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो। कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीमा पनि यस्तो पीडादायी अवस्था छ है !
महामन्त्रीज्यूहरूले विशेष महाधिवेशनको कुरा उठाउँदा हामी सबै केन्द्रीय सदस्य, पदाधिकारीज्यूहरूलाई भर्चुअल मिटिङ गरेर के गरौँ? विशेष महाधिवेशन बोलाऊँ या नियमित महाधिवेशन बोलाऊँ भनेर छलफल गर्दिएको भए धेरै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। यो अलिकति सान्दर्भिक भएन। यो भन्दा अगाडिको मिटिङमै विशेष महाधिवेशन भनेको भए राम्रै हुन्थ्यो होला। कार्यसम्पादन समितिले निर्णय गरिसकेपछि हामीले निर्णय मिडियामा सुन्नुपर्छ। यस्तो हुँदा मलाई दु:ख लागेको हो।
यस्तो हुनु भनेको कांग्रेसको लोकतान्त्रिक चरित्रमा क्षयीकरण हुँदै गएको हो?
यस्तै त नभनौं। तर, हामी अली स्वार्थी बन्यौं कि भन्ने मलाई लाग्छ।
कांग्रेस पदाधिकारी र नेतृत्वले के गरिदिएमा यो समस्याको समाधान कसरी होला लाग्छ?
कांग्रेस पदाधिकारीले आफ्नो स्वार्थभन्दा माथि उठेर काम गरेमा राम्रो हुन्थ्यो भन्ने मलाई लागेको छ। नेताहरू आफ्नो आफ्नो अडानमा हुनुहुन्छ। उहाँहरूले त्यस्तो नगरिकन अलिकति लचक्ता देखाउनु भयो भने राम्रो हुन्छ। त्यस्तो गरेमा जेनजीको माग पनि पूरा हुन्थ्यो भने लाग्छ।
यो विषम परिस्थितिमा कांग्रेस आन्तरिक विवादमा रुमलिँदा देशलाई नेतृत्व दिन पनि चुक्यो नि हाेइन?
तपाईंले गरेको प्रश्न ठीक हो। हामी त्यसमा केही चुनेका हौं। तर, नेपाली कांग्रेसको नेत्वले नै समस्याको निकास दिन्छ।
कसरी निकास दिन्छ?
हामी आन्तरिक छलफलमा छौं। हामी अन्य पक्षसँग पनि सम्वाद गर्छौं। नौनी निकाल्न मोही पार्नपर्छ। अहिले हामी आन्तरिक छलफलमा छौं। त्यही छलफलले समस्याको हल खोज्नेगरि ठोस निर्णय गर्छ। र, हामी सोही अनुरुप अघि बढ्छौं।
१५औं महाधिवेशनबाट आउने नेतृत्वमा कांग्रेसले कसरी जेनजीहरूको सहभागिता सुनिश्चित गर्छ?
हाम्रो महामन्त्रीहरू जेनजी जस्तै हो। उहाँहरू युवा हुनुहुन्छ। कांग्रेसमा हामी अधिकांश युवा नै छौं। हामी विधान संशोधन गरेर युवाहरूका लागि कोटा निर्धारण गरेर अघि बढ्ने छौं।
युवा भए पनि तपाईंहरूका महामन्त्रीलाई युवामैत्री काम गर्न नसकेको आरोप लाग्ने गरेको छ?
हो। उहाँहरूले युवामैत्री काम गर्न सक्नु भएन। त्यसैको प्रतिफल आजको आयोको मलाई लाग्छ।
उहाँहरूले किन जनपेक्षाअनुसार काम गर्न नसक्नु भएको होला?
उहाँहरूले काम गर्न खोज्दा खोज्दै नसक्नु भएको होला।
तपाईंकै पार्टीमा आस्था राख्ने जेनजी युवाहरूले कांग्रेसको भूमिका देखिएन भनिराख्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
परिस्थितिले यो अवस्था सिर्जना भएको हो। हाम्रो एकलौटी सरकार भएको भए हामीले धेरै काम गर्न सक्थ्यौं होला। मिलिजुली सरकार हुँदा धेरै काम गर्न सकिएन। र, अहिलेको परिस्थितिको दोष लिन हामी पनि बाध्य भएका हौं।
आगामी दिनमा कांग्रेस कसरी चुनावमा सहभागी हुन्छ, अन्य दलसँग गठबन्धन हुन्छ कि हुँदैन?
आगामी चुनावमा हामी एकल रुपमा जानुपर्छ। गठबन्धन गरेर जाँदा हाम्रा साथीहरूले अन्य चिन्हमा मत माग्दा हामीलाई अप्ठ्यारो भयो भन्नु भएको छ। त्यसैले हामीले कताको सन्देश बोकेर एकल चुनावी प्रतिष्पर्धामा जानुपर्छ। यसरी निर्वाचनमा होमिँदा कसैले पराजित गर्न सक्दैन। जनता पनि नेपाली कांग्रेससँग नै आसावादी हुनुहुन्छ
















Facebook Comment