‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

डिसी नेपाल
२० मंसिर २०८२ २२:१७
20
Shares

काठमाडौं । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेखेको उक्त पुस्तक नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिष्ट पार्टीका नेता दीनानाथ शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन्।

जलजला उपन्यासका लेखकसमेत रहेका महामन्त्री सिंहले उपन्यासका कमजोर विषयलाई उठान गरेर आफूलाई सजक बनाएकामा धन्यवाद् दिए। उनले लेखक भट्टले पुस्तकमा ‘कामरेड जलजला’ उपन्यासको दार्शनिक, वैचारिक पक्षबारे चर्चा गर्दै उपन्यासका राम्रा–नराम्रा कुरालाई औँल्याइदिएको बताए।

महामन्त्री सिंहले उपन्यासमा विश्वको सरसर्ती भ्रमण गरेपनि विश्वलाई बदल्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा भएको उठान गरिएको बताए। ‘कामरेड जलजला’ मा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उल्लेख गरे।

‘उपन्यासमा समाजमा पाइने गुणमध्ये आमामा पाइने सन्तानको माया सर्वेश्रेष्ठ मानवगुण भएको छ। जलजलालाई सबै मानव समाज, विश्वको सुदूर अन्तरिक्षको समेत परिप्रेक्ष प्रस्तुत गरिएको छ,’ उनले भने, ‘उपन्यासमा संसारका सबै चिजलाई आपसमा जोडेर हेर्ने प्रयत्न गरिएको छ। त्यसमाथि भट्टले विवेचना गरेर मलाई थप राम्रो गर्न सकिने पक्षबारे पनि सचेत गराउनुभएको छ।’

एमाले उपमहासचिव ज्ञवालीले ‘कामरेड जलजला’ उपन्यास पढ्न नभ्याउने पाठकका लागि प्रकाशित पुस्तकले सजिलो हुने बताए। उपन्यासको साङ्गोपाङ्गो रूपमा कृति रहेको, श्रष्टा र सिर्जनाबीचको अन्तरसम्बन्धलाई उजागरण गरिएको भन्दै उहाँले लेखक भट्टले उपन्यासको विवेचना गरेर त्रुटी सच्चाउने काम गरेको बताए।

उपमहासचिव ज्ञवालीले भने, ‘उपन्यासमा पात्रको चर्चा आर्दशवादी भयो भनेर कृतिमा चर्चा गरिएको छ। मोहनविक्रमले उपन्यासभित्र कम्युनिष्ट आन्दोलनमा अन्तरविरोध हुनेवित्तिकै पार्टी विभाजन हुने प्रवृत्तिबारे उठाउनुभएको छ। जलजलामा मानव ज्ञानको सबै विधा समेटिएका छ। त्यसैमाथि विवेचना गर्नु सामान्य कुरा होइन।’

नेपाली कम्युनिष्ट पार्टीका नेता शर्माले उपन्यास मात्र नभएर दर्शन, विचार र सिद्धान्तबारे लेखिएको बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबारे टिप्पणी गर्दै कम्युनिष्ट आन्दोलनको अनुसन्धान गर्न सहयोग पुग्ने गरी उपन्यास लेखिएको चर्चा गरे।

कार्यक्रममा भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले प्रस्तुत पुस्तकले ‘कामरेड जलजला’ उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको बताए। विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले ‘कामरेड जलजला’ उपन्यास सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको बताए।

प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिस्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला ‘कामरेड जलजला’ जस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताए। अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले जलजला उपन्यासमा वैश्विक नभएर ब्रह्माण्डीय दर्शनसमेत रहेको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.