बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

डिसी नेपाल
२३ मंसिर २०८२ ९:३७
16
Shares

चौरभिग्म (कालिकोट)। श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।

तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको करिब १० वर्षपछि विद्यालयको हाताभित्र नयाँ तीनकोठे पक्की भवन तयार भएको हो ।

नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा विद्यालय भवन बनाउन सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भवन बनाउन सहयोग गरेको हो । विद्यालयका शिक्षिका रञ्जना अधिकारीका अनुसार विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा हाल ४० बालबालिका मात्र अध्ययन गर्दछन् ।

यसपछि थप अध्ययन गर्न यहाँका बालबालिका मालिका माविमा जाने गर्दछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णजीत बुढाले भने “ कक्षा कोठा नहुँदा बालबालिका कहिले खुला चौर त कहिले जीर्ण भवनका कोठमा बस्न बाध्य थिए । बल्ल नयाँ भवन बन्यो । यसका लागि तिलागुफा नगरपालिकाका मेयर र नेपाल रेडक्रसलाई धन्यवाद दिन चाहन्छु । ”

नवनिर्मित भवनको अवलोकन गर्न यहाँ आइपुगेका तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने अन्य स्रोतसाधन सहयोग गर्ने जानकारी दिए । यस विद्यालयमा अतिविपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । नगरप्रमुख उपाध्यायको विशेष सक्रियतामा विद्यालयको नयाँ भवन बनेको हो ।

तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढाले बालबालिका चौरमा बसेर पढ्नुपर्ने अवस्था अन्त्य भएको र आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन वडाले पहल र समन्वय गर्ने जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालका अनुसार विनाशकारी गोरखा भूकम्पबाट क्षति भएका विद्यालय भवन र अन्य विपद्बाट क्षति भएका विद्यालय, स्वास्थ्य सस्था, खानेपानीका संरचना जस्ता सार्वजनिक संरचनालाई पुनःनिर्माण गर्न नेपाल रेडक्रसले निरन्तर सहयोग गर्दै आएको छ ।

‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछाने विकट क्षेत्रका समुदायका मागलाई सम्बोधन गर्न कार्यक्रमले आफ्ना गतिविधिमा नगरपालिकालाई सहयोग गरिराखेको जानकारी दिए ।

शौच गर्न जंगल छिर्नुपर्ने अवस्थाको अन्त्य

सत्यदेवी माध्यमिक विद्यालयका बालबालिकाले घरबाटै खानेपानी लिएर विद्यालय आउन नपर्न भएको छ । तिलागुफा नगरपालिका वडा ६ जुविथास्थित बालीचौर स्थित सो विद्यालयमा खानेपानी सुबिधा भएपछि वर्षौपछि बालबालिकाले घरबाटै खानेपानी लिएर विद्यालय आउन नपर्ने भएको हो ।

विसं २०३८ मा यो विद्यालय स्थापना भएको थियो । तिलागुफा नगरपालिकाले लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम मार्फत् खानेपानी सहित शौचालय, विद्यालय भवनमा ‘च्यानल गेट’ राख्न सहयोग गरेको थियो ।

कक्षा नौमा अध्ययनरत नर्जन शाहीले भने, “विद्यालय मै खानेपानीको धारा जडान भएपछि घरबाटै खानेपानी लिएर विद्यालय आउनुपर्ने अवस्था र शौच गर्न जङ्गल छिर्नुपर्ने अवस्था अन्त्य भएको छ ।” जुनियर तथा युवा रेडक्रस सर्कल कार्यसमितिका अध्यक्षसमेत रहेका शाहीले भने, “शौच गर्न जङ्गल छिर्नु पर्दा पठनपाठनमा समस्या भएको थियो । शौचालय बनेपछि सुविधा भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।”

विद्यालयका प्रधानाध्यापक सनम शाहीले, “विद्यालय भवनको तल्लो तलामा बालबालिका माथिल्लो तलामा गाईवस्तु हुन्थे । गाईवस्तुका गोबर सफा गरेर र गाईवस्तुलाई बाहिर धपाएर मात्र बालबालिका कक्षाकोठामा पस्नुपर्ने अवस्था थियो । भवनमा च्यानल गेटको व्यवस्था भएपछि विद्यालय भवनमा गाईवस्तु छिर्न बन्द भएका छन् ।” उनले विद्यालयमै खानेपानी सुविधा र शौचालय हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमाथि उठ्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.