मलाई पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लागेको थियो : राजेश हमाल

डिसी नेपाल
२६ मंसिर २०८२ १५:३०
24
Shares

काठमाडौं। महानायक राजेश हमालले कुनै पनि पेसामा आफ्नो उच्चतम परिचय बनाउनु आवस्यक रहेको बताएका छन्। त्यो परिचय इमान्दारितासाथ काम गर्दा मात्र सम्भव हुने उनले औंल्याएका छन्।

किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जीन्दगी र विज्ञापन’ सेसनमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति भएको बताएका हुन्।

‘पुस्तक लेख्ने कार्य कठिन रहेछ। मलाई त झनै कठिन भयो, किनकि म व्यक्तिगत कुरा झट्टै साट्ने चाहने मानिस होइन। तर, पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लाग्यो। मैले प्रकाशकसँग आफ्ना विषय छताछुल्ल पार्न गाह्रो हुन्छ पनि भनेको थिएँ। त्यसपछि उहाँले एउटा फर्मेट दिनु भयो। र, पुस्तक तयार भयो’, उनले भने।

पुस्तक लेख्दा ६ महिनादेखि एक वर्षमा सकिएला भन्ने लागेकोमा तीन वर्षमा सकिएको उनले बताए। यो बीचमा लेखक योगेशसँग हृदयका गहिराइका कुरा आफूले गरेको अनुभूति उनले सुनाए।

पुस्तकमा जीवन, बाल्यकाल, भोगाइ, समाज र यसप्रति मेरो जिम्मेवारी, दृष्टिकोणलगायत विषय पुस्तकमा असाध्यै इमान्दारिता साथ समेटिएको उनले बताए। पुस्तकमा जीवनका विभिन्न विन्दुमा भेटघाट भएका व्यक्तिको जीवनलाई छुँदा भने अलि संवेदनशील भएको उनी बताउँछन्।

यससँगै जिन्दगी र विज्ञापन विषयमा सहजकर्ता अभय पाण्डेसँग हमाले जीवन, परिचय र अनुभव जस्ता जीवनका आयामहरूबारे मन्थन गरेका थिए।

‘मान्छेको सबैभन्दा रुचीको विषय भनेको अर्को व्यक्ति हो। म कस्तो देखिएको छु, मलाई के सोचिरहेका छन् भन्ने अर्को व्यक्तिको सोचाइमा छ कि छैन भन्ने कुरा मान्छेको दिमागमा खेलिरहेको हुन्छ। तपाईं एकदम भयंकर हुनुपर्छ भन्ने छैन। हरेकको आफ्नै विन्दु र दृष्टिकोण हुन्छ। बौद्धिक रुपमा मात्र हामी फरक हुने हो। सिर्जना गर्ने व्यक्तिलाई आ–आफ्नो हिसाबले सिर्जना गर्ने स्वतन्त्रता हुनुपर्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.