सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

डिसी नेपाल
२ पुष २०८२ १०:१४
16
Shares

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका-४, रोहुवास्थित उखुबालीमा भएको भीषण आगलागीबाट पीडित किसानलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

आगलागीबाट ठूलो क्षति भएपछि सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय किसानले नेपाल सरकार र मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौंमा बसोबास गर्दै आएका सर्लाहीका सामाजिक अभियन्ता नितेश राउतले मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै आगलागीबाट पीडित किसानलाई तुरुन्त राहत दिन माग गरेका हुन्।

ज्ञापनपत्रमा पीडित किसानलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने, बीउ, मल तथा कृषि उपकरणसहित आपतकालीन कृषि प्याकेज प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाई आगलागी जोखिम न्यूनीकरण तथा सुरक्षित कृषि अभ्यासबारे सहयोग गर्न पनि माग गरिएको छ।

गोडैता नगरपालिकाका प्रमुख देबेन्द्र यादवले पनि आगलागीबाट प्रभावित किसानको अवस्था गम्भीर रहेको भन्दै संघ तथा प्रदेश सरकारसँग क्षतिपूर्तिको माग गरेका छन्। उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन खेतबारी तथा बाटो आसपास ज्वलनशील वस्तु नराख्न नगरवासीलाई आग्रह गरेका छन्।

सोमबार दिउँसो गोडैता नगरपालिका – ४, रोहुवामा उखुबारीमा भीषण आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगो स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको थियो र प्रारम्भिक रूपमा विद्युत् तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

आगलागीबाट करिब ५० देखि ६० बिघासम्म फैलिएको उखु बाली जलेर नष्ट भएको छ। नगरपालिकाको प्रारम्भिक अनुमान अनुसार करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, बुझाइएको ज्ञापनपत्रमा करिब १५० जना किसानले संयुक्त रूपमा दुई करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी बेहोरेको उल्लेख छ। आगलागीबाट भएको वास्तविक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.