जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे
गोरखा । जाडो बढ्दै गएपछि जिल्लाको हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन्। चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यस वर्ष पनि जाडो छल्न धमाधम सहर झर्न थालेका हुन्।
‘अहिले ८० प्रतिशत गाउँले काठमाडौं पुगिसके, बाँकी घर कुर्न बसेका छन्‘, चुमनुब्री–७ छेकम्पारको पासाङफुञ्जो लामा भन्छन्, ‘अहिले हरेक घरमा एक जनामात्र होलान्।‘
गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उहाँको भनाइ छ। गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उनले बताए।
जाडो बढेपछि मङ्सिर दोस्रो सातादेखि लेकको चरन र खर्कमा राखिएका चाँैरी गाउँमा झारिएको छ। याक भने हिमाली क्षेत्रको चरनमै रहेको सोही वडाका वडाध्यक्ष टासी लामाले बताए। ‘याकको भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ। चौँरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राख्ने चलन छ,‘ उनले भने।
चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन्। तिब्बत सीमाना नजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको त्यहाँका स्थानीयवासीको भनाइ छ। यहाँका करिब ४५ घरधुरीमध्ये दश, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर सहर झरेका स्थानीय वाङ्चुक राप्तेन लामाले जानकारी दिए। ‘धेरै घर खाली भइसकेका छन्”, उनले भने, ‘एक दुईबाहेक होटल पनि बन्द भएका छन्।‘
जाडो बढेपछि चुमनुब्री–२ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका–४ को कोखेटारमा सारिएको छ। आउँदो चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँका प्रधानाध्यापक बाबुराम धमला बताउँछन्।
उनीहरू सहर झरेकाबेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन्। ‘धेरैजसो तीर्थ गर्न जान्छन्। कोहीकोही काठमाडौँमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्‘, चुमनुब्री–७ निलेको लोप्साङ लामा भन्छन्, ‘हाम्रातिर घरमा ढोका लगाएर सबै सहर झर्दैनन्। कम्तीमा प्रत्येक घरमा एक जना घर कुरुवा बस्छन्।‘ अहिले सहर झरेका सहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment