सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते

डिसी नेपाल
७ पुष २०८२ ८:४२
224
Shares

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह् भएको हो ।

धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ । भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ । घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ । उनी प्यारालाइसिसका बिरामी हुन् ।

स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब तीन किलोमिटर टाढा पर्दछ। घटनास्थलमा प्रारम्भिक मुचुल्का, शव परीक्षणका प्रक्रिया तथा प्रमाण सङ्कलनको काम सम्पन्न भइसकेको छ भने घटनाको कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको यथार्थ कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.