लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

डिसी नेपाल
२४ पुष २०८२ १६:४६
80
Shares

काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान तथा जेनजी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन्।

वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए। उनीहरूको भनाइमा लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई दलगत राजनीतिबाट दिक्क भएका नागरिकहरूको आशा, विकल्प र प्रतिरोधको प्रतीक भएको जनाएका छन्।

पत्रकार सम्मेलनमा तत्कालीन ‘हाम्रो नेपाली पार्टी’ लाई केवल कानुनी प्रयोजनका लागि अस्थायी रूपमा प्रयोग गरिएको संरचना भएको दाबी गरिएको छ। सबै स्वतन्त्र उम्मेदवारहरूले साझा चुनाव चिन्ह प्रयोग गर्न सकून् भन्ने उद्देश्यले निर्वाचन आयोगमा दर्ता गरिएको उक्त पार्टीलाई राजनीतिक दलको रूपमा विकास गर्ने कुनै सहमति नरहेको वक्तव्यमा उल्लेख छ।

तर सोही पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले कुनै छलफल वा सहमति बिना नै पार्टीको नाम परिवर्तन गरी ‘देश विकास पार्टी’ बनाउँदै लौरो चुनाव चिन्हलाई राजनीतिक बार्गेनिङको साधन बनाएको आरोप लगाइएको छ। उनीहरूले दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले यस्तो कदम चालेको दाबी पनि गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक सौदाबाजीको हतियारका रूपमा प्रयोग गरेको देखिएको भन्दै स्वतन्त्र अभियन्ताहरूले आपत्ति जनाएका छन्।

वक्तव्यमा भनिएको छ, ‘ निजी स्वार्थका आधारमा, दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले लौरो चुनाव चिन्ह नै सौदाबाजी गरी पार्टीको नाम परिवर्तन गर्दै ‘देश विकास पार्टी’ बनाएको गम्भीर तथ्य हाम्रो सामु आएको छ। यसपछि कालान्तरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक बार्गेनिङको हतियारका रूपमा प्रयोग गरेको देखिएकाले, हामी स्वतन्त्र व्यक्ति तथा लौरो अभियानका अभियन्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा हामी स्पष्ट रूपमा भन्न चाहन्छौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश नगर्दासम्म स्वतन्त्र लौरो अभियानका एक स्टेकहोल्डर थिए। तर जब उनी र उनको टिमले दलगत राजनीतिमा प्रवेश गरे, त्यस क्षणदेखि ‘लौरो चुनाव चिन्ह’ उनको वा उनको समूहको रहन सक्दैन। किनकि लौरो भनेको स्वतन्त्रहरूको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्र राजनीतिक आन्दोलनको मन्दिर हो। त्यसैले, वर्तमान अवस्थामा बालेन्द्र शाह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट माग छ।’

स्वतन्त्र समूहले लौरो चुनाव चिन्ह एक हप्ताभित्र स्वतन्त्र उम्मेदवार तथा समूहलाई आधिकारिक रूपमा फिर्ता गर्न अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र चिन्ह फिर्ता नगरिए देश विकास पार्टीको कार्यालय तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घर वा कार्यालय अगाडि विरोध तथा धर्नाका कार्यक्रम गर्ने चेतावनी दिइएको छ।

त्यसैगरी निर्वाचन आयोगले तत्कालीन हाम्रो नेपाली पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर सनाखत नगरी पार्टीको नाम परिवर्तन गरिएको भन्दै उक्त प्रक्रिया अवैधानिक भएको दाबी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.