भेनेजुएला माथि अमेरिकी मानव अधिकारको नमूना
भेनेजुएला दक्षिण अमेरिकी राष्ट्र हो। यो सार्वभौम सम्पन्न नेपाल जस्तै स्वतन्त्र राष्ट्र पनि हो। यसको जनसंख्या नेपालको जनसंख्याको हाराहारीमा छ। जिडिपी र प्रतिव्यक्ति आए नेपालको भन्दा दोब्बर छ भने भूगोल नेपाल भन्दा ६ गुणा ठूलो छ।
संंसारको सबैभन्दा ठूलो तेल खानी भएको देश हो यो। संसारको सबैभन्दा बिशाल ग्यास भण्डार भएको १० देशहरु मध्य यो पनि एउटा हो। यहाँ सून, फलाम र अन्य अथाहा खनिज सम्पदाको श्रोत छ। यसैले शक्ति राष्ट्रहरु मध्य अमेरिकाको वक्रदृष्टि परेको देश हो यो।
यहाँ अमेरिकी तेल कम्पनीले पहिले पहिले तेल निकाल्ने र विश्व बजारमा बेच्ने काम गर्दथे। २ फ्रेवरी १९९९ मा ह्युगो चाबेज जब सत्तामा आए, यहाँको तेल उद्योगलाई राष्ट्रियकरण गरे। तेलको बिक्रीबाट आएको मुनाफाबाट जनतालाई शिक्षा स्वास्थ्य र आवास निशुल्क गरिदिए। यो कामबाट उनी जनताका बीचमा निकै लोकपृय हुन गए।
यिनी साम्राज्यवाद बिरोधी ब्यक्तिको रुपमा बिश्व सामु ख्याती कमाएका ब्यक्ति पनि हुन्। उनी पछिका राष्ट्र प्रमुख हुन निकोलस मादुरो। उनले पनि चाबेज कै नीति अनुशरण गरेका थिए। यो देश बामपन्थी र समाजवादी बिचारधारा बोकेको देश हो। यसैले अमेरिकी कुदृष्टि यहाँ परिरहेकै थियो। भेनेजुएलालाई कमजोर पार्न अमेरिकाले षड्यन्त्र गरिरह्यो। देश भित्रै द्वन्द्व श्रृजना गर्न पनि लामो प्रयास गर्यो। तर पनि सम्भव भैरहेको थिएन।
विश्व साम्राज्यवादको खुनी नङ्ग्रा यतिखेर भेनेजुएलामाथि परेको छ। यस भन्दा अघि इराकका शासक सद्दाम हुसेनलाई कसरी मारियो त्यो पनि हामीले हेरिसक्यौं। यसैगरी लिबिया, सिरिया जस्ता देशमा आतंक फैलाएको पनि बिश्वको इतिहासमा ताजै छ।
हालै ४ जनवरी २०२६ को मितिमा एउटा सार्बभौम देश भेनेजुएलाको राष्ट्रपतिलाई बेडमै गएर नियन्त्रणमा लिने र लडाकु बिमानमा राखी अमेरिका पुर्याउने रबैयाले अमेरिकी मानव अधिकार विश्व सामु नांगिएको छ।
भेनेजुएलाका राष्ट्रपतिलाई गिरफ्तार गर्नु अघि अमेरिकाले के के गर्यो, यो फेरिस्त सुन्दा सबैको आङ सिरिङ बनाउँछ। मादुरो राष्ट्रपति भवनमा थिए, जुन किल्ला जतिकै सुरक्षित थियो। त्यो बिशेष सुरक्षासहितको स्टिलको पर्खालले घेरिएको थियो।
मादुरो त्यही कोठामा प्रवेश गर्न खोजेका मात्र थिए अमेरिकी सेनाले उनलाई ढोका लक गर्नै दिएनन् पक्राउ गरिहाले। अमेरिकी सेनालाई उनी के खान्छन्, कहाँ बस्छन्, कस्ता लुगा लगाउँछन्, उनका घरपालुवा जनावर के कति छन् सबै कुराको जानकारी थियो।
यो अभ्यासको लागि अमेरिकी सेनाले मादुरोको निवासकै हुबहु नक्कल गरी एउटा नक्कली भवन पनि बनाएर अभ्यास गरेको थियो। ट्रम्पले भनेका छन् अपरेसन पूर्ण अध्यारोमा गरिएको थियो। अमेरिकी सेनालाई सजिलोका लागि काराकास (भेनेजुएलाको राजधानी शहर) को सबै बत्ती निभाइएको थियो।
आक्रमणको समयमा सात वटासम्म बम बिष्फोट गराइयो। अपरेसन पूर्ण रुपमा ३० मिनेट भित्र सकिएको थियो। सिएनएनका अनुसार मादुरो दम्पतीलाई बेडरुमबाट थुतेर लगिएको थियो। यसभन्दा अघि मादुरो निवास वरपर स्टिल्थ ड्रोन समेत उडाइएको थियो।
यसले मादुरोको गतिविधि, उनको सुरक्षा र दिनचर्याबारे सुक्ष्म रुपले निगरानी गरिएको थियो। यो ड्रोन सामान्य आँखाले, रडारले र सामान्य सेन्सरले सजिलै पत्ता लगाउन नसक्ने गरी बनाइएको हुन्छ। अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले पनि यो वmुरा उल्लेख गरेको छ।
यसबाट अमेरिकी सिआईए कतिसम्म सबल रहेछन् भन्ने पनि खुलेको छ। यस हिसावले हेर्दा नेपालको राजदरवार हत्याकाण्डमा पनि उनीहरुकै हात रहेको हुनसक्ने कुरा सर्बत्र अड्कल गरिएको छ। यद्यपि राजदरवार हत्याकाण्डमा कसैले यसको जिम्मा लिएको अवस्था भने थिएन।
निर्दोष र पहिल्यै मारिइसकिएको राजकुमार दीपेन्द्रलाई सबै दोष थुपारेर हत्यारो अन्तर्राष्ट्रिय शक्ति गिरोहले आफ्नो खुनी अनुहार लुकाउन यो घटनामा सफल भएको देखिन्छ। भेनुजुएलाको घटनामा त्यहाँ भएको ठूलो परिमाणको तेल भण्डार कब्जा गर्ने स्वार्थ उसको लुकेको छ। नेपालको घटनामा राजसंंस्थालाई कमजोर पारी नेपालको भूमीमार्फत चीन बिरुद्ध गतीविधि गर्ने स्वार्थ र मनसाय उसको देखिन्छ।
तिब्वती शरणार्थीलाई उचाली फ्री तिब्बतको गतिविधि बढाउने उसको रणनीतिक लक्ष्य हो। यसको स्वरुप राजा वीरेद्रको पालामा नेपालका उत्तरी बेल्ट मनाङ र मुस्ताङ जस्ता जिल्लाहरुमा खम्पा बिद्रोह गराएको उदाहरण छ। नेपालको उत्तरी भेगको जिल्लाहरु कब्जा गर्ने र यसमार्पmत तिब्वत हान्ने खम्पाहरुको योजना राजा वीरेन्द्रले तुहाइदिएको इतिहास छ। यो कुरा नेपालीले कहिल्यै बिर्सन छैनन्।
यसरी हेर्दा अमेरिकी नीति आफूलाई टकराव दिने चीनलाई जसरी हुन्छ कमजोर पार्ने, विश्वका कमजोर देशमा आक्रमण गरी त्यहाँको तेल भण्डार र अन्य बहुमूल्य खनिज सम्पदा हात पार्ने रणनीतिक लक्ष्य स्पष्ट हुन्छ। लोकतन्त्र मानव अधिकार र समानता र न्याय उसको देखाउने दाँत मात्र हो।
उसले बिकासन्मुख देशहरुमा शान्ति तथा लोकतन्त्र निकासी गर्छ र त्यहाँबाट आफ्नो स्वार्थ सिद्दीको परिणाम हात पार्दछ। अमेरिकाको अर्को नरम नीति पनि छ त्यो के भने उसले कुनै पनि देशलाई सोझै बम हानेर मात्र बर्बाद गर्दैन, उ प्रणाली, सिद्धान्त र निर्भरतामार्फत कुनै पनि देशलाई कमजाेर बनाउँछ।
लोकतन्त्र र मानव अधिकारको पाठ पढाउँछ , ऋण र दातृ संंस्थामार्फत नीति नियन्त्रण, एनजिओ र मिडियाबाट बिचार निर्माण तथा प्रतिबन्धको राजनीतिमार्फत बिस्तारै त्यो देशलाई कमजोर र अस्थिर बनाउँछ। यसबाट देशभित्र पक्ष र विपक्षमा ध्रुबीकरण बढ्छ, राष्ट्रिय एजेण्डा ओझेल पर्छ, नेतृत्व कमजोर हुन पुग्छ। यसैले आन्तरिक कमजोरी नै बाह्य षड्यन्त्र भन्दा घातक हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्ने तथ्य हो।
भेनेजुएलाको अहिलेको राजनीतिक संकटको पछाडि पनि एउटा गम्भिर रहस्य बाहिरिएको छ। राष्ट्रपतत्त निकोलसलाई घेर्नु अघि नै बाह्य शक्तिले त्यहाँको सुरक्षा निकाय सांंसद र त्यहाँका सुरक्षा टोलीका महत्वपूर्ण ब्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारेर सेटिङ मिलाएको खबरहरु बाहिरिएका छन।
यो घटनाले कुनै पनि देशमा वास्तविक शत्रु बाह्य ब्यक्तिहरु मात्र हुदैनन, देश भित्रकै बिकाउ पात्रहरु त्यो भन्दा बढी घातक र खतरनाक हुन्छन्। आफ्नै देश र राष्ट्रियतालाई पैसामा साट्ने सैनिक र राजनीतिज्ञहरु देशघातीहरु हुन्। यस्ता ब्यक्तिहरुलाई राज्यले बेलैमा चिनेर पाखा लगाउन नसक्नु भेनेजुएलाको कमजोरी देखिन्छ।
आफूलाई मन नपर्ने बिश्वका कुनै पनि नेतालाई हत्या गर्न पनि अमेरिका कसरी लागिरहेको हुन्छ भन्ने कुरा क्यूवाका फिडेल क्यास्ट्रोको यो भनाइबाट पुष्टि हुन्छ, “यदि हत्या प्रयासबाट बच्नु ओलम्पिक खेल हुन्थ्यो भने म स्वर्ण पदक जित्दथे”। उनी ६०० पटक भन्दा बढी हत्या प्रयासबाट बचेका क्यूवाली नेता हुन्।
फिडेल क्यास्ट्रोले अमेरिकाको नाकै मूनी १९५९ मा क्रान्ति सफल गरी कम्युनिष्ट समाजबादी देश स्थापना गरे। उनले क्यूवाली जनताको हितमा धेरै लोकपृय कामहरु गरे। शिक्षा स्वास्थ्य सबै निशुल्क बनाएका थिए। कृषकको हितमा कामहरु गरे।
अमेरिका र पश्चिम साम्राज्यवादी शक्तिको दबाद र हस्तक्षपको सामना गर्दै स्वतन्त्र बिदेश नीति अपनाएका थिए। अमेरिकाले उनको सत्ताको अन्त्य गर्न ६०० भन्दा बढी हत्या प्रयास गर्यो। जसमा बिष, बम, बन्दूक हमला, बिमान दुर्घटनालगायतका योजनाहरु समाबेस थिए।
जनताको दह्रो समर्थन र शुरक्षा ब्यबस्थाको चुस्तताको कारण उनी बच्न सफल भएका थिए। १९६० र ७० को दशकमा सिआइएको दस्ताबेज अनुसार यस्तो हत्या प्रयास अमेरिकी सरकारले बनाएको कुरा खुल्न आएको छ। क्यूवा माथिको आर्थिक नाकाबन्दी त कति हो कति गनी साध्य छैन।
हालै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंंले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिन अमेरिकाले अपनाएको तरिकाप्रति असहमति जनाएका छन्। फ्रान्सले यस घटनामा अमेरिकाको समर्थन नगर्ने स्पष्ट संकेत गरेका छन्।
पश्चिमी सहयोगी राष्ट्रहरुसँग समग्र राजनीतिक दृष्टिकोण मिल्दोजुल्दो भएतापनि यस्तो संंवेदनशील बिषयमा अपनाइएको विधिबारे फ्रान्स सन्तुष्ट छैन भन्ने सन्देश उनले दिएका छन। फ्रान्सले अन्तर्राष्ट्रिय कानून, राष्ट्रिय सार्बभौमिकता र बिधिको शासनको सम्मान हुनुपर्ने कुरामा जोड दिएको छ। यस घटनाले सहयोगी राष्ट्रहरु बीच नै हस्तक्षेपको सीमा र शैली बारे मतभेद बढ्दै गएको पनि देखिन्छ।
यस घटनाले संंयूक्त राष्ट्रको बडापत्रमा उल्लेखित कानून नियम र सार्बभौमिक देशको अस्थित्व र अहस्तक्षेपको नीति बिपरित हुन गएको देखिन्छ। यस्तै रबैया रहिरहने हो भने संंयुक्त राष्ट्र संघको औचित्य समाप्त हुँदै आएको र समाप्त भएको भन्न करै लाग्ने देखिन्छ।
भेनेजुएलाको घटनाले बिश्वको सबै राष्ट्रहरुलाई झस्काएको छ र सोच्न बाध्य बनाएको छ। घटनाक्रमहरुलाई हेर्दा २०२६ तेस्रो बिश्वयुद्धको संंघारमा उभिएको त हैन! भन्ने भान पर्न लागेको छ। यदि तेश्रो बिश्व युद्ध भयो भने यो पहिलेको भन्दा ज्यादा भयानक र बिनासकारी हुनेछ। प्रबिधिले सम्पन्न यो युद्ध बिश्वमा ज्यादा घातक बन्ने कुरा अनुमान मात्र गर्न सकिन्छ।
















Facebook Comment