कांग्रेस संस्थापन पक्षले भन्यो- पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्नू

डिसी नेपाल
२८ पुष २०८२ १६:०२
120
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन्। खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन्।

‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्।

खड्काले यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गरेका छन्।

उनले राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा कांग्रेसीहरूको काँधमा फेरि ऐतिहासिक जिम्मेवारी आएको बताएका छन्। ‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरे पछि आगामी २०८३ वैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ । तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ,’ उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *