खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
चौतारा । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो। आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए। आगो फैलँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत बन्द गरिएको उहाँले बताए।
प्रहरी निरीक्षक राईका अनुसार गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ। आजदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment