कांग्रेसको नयाँ कार्यसमितिका लागि आजै मतदान गर्ने निर्णय, तयारी पूरा, सुरक्षा कडा

डिसी नेपाल
२९ पुष २०८२ १३:१७
488
Shares

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज काठमाडौंको भृकुटीमण्डपमा मतदान हुने भएको छ। पार्टी विधान, नियमावली तथा विशेष महाधिवेशनसम्बन्धी कार्यविधि र निर्वाचन निर्देशिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

विशेष महाधिवेशनमार्फत निर्वाचित हुने केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न मंगलबार बिहान केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम के.सी.को अध्यक्षतामा काठमाडौंस्थित निर्वाचन समितिको कार्यालयमा बैठक बसेको थियो।

सो बैठकले सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै औपचारिक रूपमा निर्वाचन प्रक्रिया सुरु गरेको हो। निर्वाचन समितिका अनुसार भृकुटीमण्डपमा आज दिनभर प्रतिनिधिहरूको मतदान प्रक्रिया सञ्चालन हुनेछ।

महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व चयन गर्ने भएकाले यो निर्वाचनलाई कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। विशेष महाधिवेशन पार्टीभित्र देखिएको संगठनात्मक र नेतृत्वसम्बन्धी विवाद समाधान गर्ने उद्देश्यसहित आयोजना गरिएको हो।

यसैक्रममा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि कांग्रेसले १५औँ महाधिवेशनतर्फ जाने प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ।

भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदानस्थल र गणनास्थलमा आवश्यक प्राविधिक तथा प्रशासनिक संयन्त्र परिचालन गरिएको छ।.




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.