सहमति नजुट्दा कांग्रेस विभाजनकाे डिलमा

डिसी नेपाल
३० पुष २०८२ ७:०१
4.4k
Shares

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ। संस्थापन पक्षको तीव्र असहमतिका बाबजुद सुरु भएको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका समसामयिक राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ।

मंगलबार भृकुटीमण्डपमा बन्दसत्रबाट प्रतिवेदनहरू पारित भएका हुन्। दुवै प्रस्ताव पारित भएसँगै विशेष महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझैदेखि मनोनयनसमेत सुरु भएको छ।

दुई पक्षबीच सहमति नहुँदा कांग्रेस औपचारिक रूपमै फुट सँघारमा पुगेको छ भने पार्टी सभापति शेरबहादुर देउवालाई गलाएर सहमतिमा ल्याउन विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम सार्वजनिक गरे पनि सारिरहेका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सभापति देउवाको राजनीतिक संन्यास अडान कायम राखेका छन्।

विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट मंगलबार दिनभर ठोस निष्कर्ष निस्कन नसक्दा विशेष महाधिवेशनको निष्कर्ष र एकताबद्ध समापनको साझा उपाय निस्कन सकेको छैन। एकातिर कांग्रेस विशेष महाधिवेशन चल्दैगर्दा अर्कोतर्फ पार्टी एकता जोगाउन छलफल जारी छ।

नेता-कार्यकर्तामा व्याप्त फुट त्रासबीच पार्टी एकढिक्का बनाइराख्न वार्ता समितिसहित नेता छुटाछुटै छलफलमा छन्। कांग्रेस सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्मा पक्षबाट गठित वार्ता समितिले दुई चरणमा छलफल गरेको छ। देउवा समूह विशेष महाधिवेशनमा सहभागी छैन। थापा र शर्मा समूहले विशेष महाधिवेशनमा सहभागी हुँदै नेतृत्व चयन चरणमा पुगेको छ।

यसबीच नेताहरू मिलनबिन्दु खोजीसमेत पार्टी विभाजनबाट जोगाउने प्रयासमा छन्। विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिँदै पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने बटमलाइन’मा सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको हो।

त्यस्तै, विशेष महाधिवेशन पक्षधरबाट देउवाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणासहित राजनीतिबाटै ‘संन्यास’ लिनुपर्ने अडान आएको छ।

देउवाले राजीनामा गर्ने वा सक्रिय राजनीति छोडेको घोषणा गर्ने भन्ने विशेष महाधिवेशन पक्षधरको माग थियो। तर, त्यसमा संस्थापनले सभापतिलाई नसोधी नहुने बताएपछि सहमति हुन नसकेको हो।

यद्यपि, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष लचकताका साथ संवादमा रहेको दाबी गरे। वार्तामा विशेष महाधिवेशन पक्ष (गगन-विश्व)बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए। त्यस्तै, सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए।

प्रचार समितिका संयोजक सुवास पोखरेलले नेतृत्वसँग सहमति नभए बुधबार निर्वाचन प्रक्रिया अघि बढ्ने बताए। उनले अन्य विषयमा सहमतिनजिक पुगे पनि नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग सहमति जुट्न नसकेको बताए। सहमति भए पनि विशेष अधिवेशनको हलले स्वीकार गर्नुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.