सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद

डिसी नेपाल
३ माघ २०८२ १३:५७
100
Shares

रामेछाप । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैँक शाखामा भएको डकैती प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे योजनाबद्ध रूपमा बैँकभित्र प्रवेश गरेको डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो ।

डकैतहरूले खुकुरी देखाएर गार्ड र कर्मचारीलाई धम्क्याउँदै हातखुट्टा बाँधेका थिए भने मुखमा टेप टाँसिएको थियो । प्रतिकारको प्रयास गर्दा सुरक्षा गार्डमाथि खुकुरी प्रहारसमेत गरिएको र उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा गार्ड र कर्मचारी दुई छुट्टाछुट्टै कोठामा बाँधिएको अवस्थामा फेला परेका थिए । उनीहरूको तत्काल उद्धार गरी उपचार तथा सुरक्षाको व्यवस्था मिलाइएको थियो ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरी उपरीक्षकको कमाण्डमा ५० जनाको विशेष टोली परिचालन गरिएको थियो । सम्भावित नाकाहरूमा कडा निगरानी राख्दै व्यापक खोजतलास अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

खोजतलासकै क्रममा घटनास्थलबाट करिब सात किलोमिटर पूर्व लिपिखोलामा बि ए डि ०३९८ नम्बरको टाटा सुमो र चालक भगवत सिंह थापा फेला परेका थिए । प्रारम्भिक सोधपुछमा बनेपाबाट विवाहको प्रयोजन भन्दै सवारी साधन रिजर्भ गरिएको खुलेपछि चालकलाई नियन्त्रणमा लिइएको थियो ।

त्यसै राति जंगलका विभिन्न स्थानमा बोरा र झोलाभित्र लुकाइएको १ करोड ५० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ । भोलिपल्ट थप चार जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अन्य लुकाइएको रकमसमेत बरामद गरिएको हो ।

अनुसन्धानबाट घटनामा स्थानीय दुई जनाले योजनाकारको भूमिका खेलेको खुलेको छ । प्रहरीका अनुसार घ्याङलेख गाउँपालिका–२ का छविलाल स्याङ्तान र चतुरमान बज्जु घटनाका मुख्य योजनाकार रहेको पुष्टि भएको छ ।

छविलाल स्याङ्तानलाई धरानबाट पक्राउ गरिएको हो भने चतुरमान बज्जुलाई घ्याङलेख–२ को जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले असोज महिनादेखि नै बैँकको गतिविधि, सुरक्षा व्यवस्था र रकमको अवस्थाबारे जानकारी संकलन गर्दै आएका थिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक उपत्यारा जगन्नाथ गाविस–२ घर भई हाल बनेपा नगरपालिका–१० बस्ने सवारी चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्जु र छविलाल स्याङ्तान, चितवन भरतपुर महानगरपालिका–२ का शशांक श्रेष्ठ, नुवाकोट पंचकन्या गाउँपालिका–५ का मिलन गिरी र विवेक मगर रहेका छन् । साथै एक जना १६ वर्षे नाबालक पनि संलग्न रहेकाले उनको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद, दुई थान खुकुरी, एक थान नक्कली प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, नकाब तथा अन्य सामग्री बरामद गरेको छ ।

पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि जिल्लाभर सुरक्षा सतर्कता थप कडा पारिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.