आज विश्वकर्मा दिवस, निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पुजा गरिदैं

डिसी नेपाल
१ असोज २०७६ ५:४८
4
Shares

काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । यस उपलक्ष्यमा आज वास्तुसम्बन्धी काम गर्ने संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ । मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ । यसको शुरुवात् विश्वकर्माले नै गरेको शास्त्रीय मान्यता छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *