नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाए : निर्मला गौतम

डिसी नेपाल
१० माघ २०८२ १४:३८
28
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी काभ्रेपलाञ्चोककी समानुपातिक उम्मेदवार निर्मला गौतमले समानुपातिक प्रतिनिधित्वको मर्ममाथि गम्भीर प्रश्न उठाउँदै यसलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताएकी छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले समानुपातिक व्यवस्था आवाज नपुगेका, पछाडि पारिएका समुदायलाई प्रतिनिधित्व दिलाउन ल्याइएको भएपनि अहिले पहुँचवाला र बोल्न सक्नेहरू मात्र त्यसमा समावेश गराइएको बताइन् ।

उनले भनिन्,‘समानुपातिक भनेको पिछडिएका समूदाय जसको आवाज सम्बन्धित निकायमा पुग्दैन उसलाई समानुपातिकमा ल्याउने संरचना हो । तर सिमित महिलाहरुलाई मात्र राखिएको छ, यो गलत छ ।’

गौतमका अनुसार, समावेशी लोकतन्त्रका लागि विभिन्न आन्दोलन र बलिदानबाट स्थापित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था सामान्य प्रयासले आएको होइन् । ‘तर अहिलेको निर्वाचन प्रक्रिया हेर्दा म झनै छक्क परेकी छु,’ उनले भनिन्, ‘नयाँ भनिने दलहरूले समेत समावेशिताको धज्जी उडाएका छन् । पूराना दलहरूमा त आफन्तवाद अझै हावी देखिन्छ ।’

उनले समानुपातिकको मूल उद्देश्य पूरा नहुने अवस्था रहेमा यस्तो व्यवस्था नै नराख्दा राम्रो हुने तर्क गरिन् । ‘जसका लागि हामीले समानुपातिक राखेका हौं, उनीहरूले नपाउने र आर्थिक, सामाजिक रूपमा सक्षम व्यक्तिले मात्रै पाउने हो भने यसको अर्थ के रहन्छ ?’ भन्दै उनले पदको लोभबाट मुक्त हुन सबैलाई आग्रह गरिन्।

चुनावी सरकारमाथि प्रश्न

गौतमले वर्तमान चुनावी सरकारलाई ‘आपतकालीन सरकार’को संज्ञा दिँदै, निर्वाचन सम्पन्न गराउने दायित्व बोकेका मन्त्रीहरू चुनाव नजिकिँदै राजीनामा दिनुलाई गैरजिम्मेवार कदम भनेकी छन् ।

‘यो सरकार निर्वाचनका लागि बनेको हो भन्ने थाहा हुँदाहुँदै जिम्मेवारीबाट भाग्नु भयो,’उनले भनिन् । यस विषयमा सामाजिक सञ्जालमा समेत आफूले प्रश्न उठाएको बताइन्।

उनका अनुसार, यस्तो व्यवहारले जनतामा राजनीतिप्रति थप वितृष्णा बढाएको छ । ‘जनताले कसलाई मतदान गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछन्,’ उनले भनिन् ।

पार्टीको तयारी र चुनौती

जेनजी आन्दोलनपछि पूराना दलहरूको बेथिति, विसंगति र भ्रष्टाचारविरुद्ध वैकल्पिक शक्तिका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी उभिएको गौतमको दाबी छ । नेपाली माटोमा जन्मिएको, नेपाली जनभावनालाई प्रतिनिधित्व गर्ने राजनीतिको विकल्प दिन पार्टी गठन गरिएको उनले बताइन् ।

छोटो समयमै पार्टी गठन र निर्वाचन एकैसाथ परेकाले चुनौति भए पनि पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये ९२ क्षेत्रमा उम्मेदवार उठाएको जानकारी दिइन् । ‘हामीसँग ठूलो मास छैन, तर देश निर्माणका ठोस योजना छन्,’ उनले भनिन् ।

समावेशिता र महिला उम्मेदवारी

पार्टीको आन्तरिक संरचना समावेशी रहेको बताउँदै गौतमले अध्यक्ष परिषद्मा मधेसी, दलित र महिला प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गरिन् । प्रत्यक्षतर्फ प्राविधिक कारणले अपेक्षित संख्यामा महिला उम्मेदवार उठाउन नसकिए पनि सात जना महिला उम्मेदवार रहेको जानकारी दिइन् ।

मुख्य एजेण्डा

प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख एजेन्डामा सुशासन, भ्रष्टाचार नियन्त्रण, जेन्जी आन्दोलनका मागहरूको कार्यान्वयन, युवा रोजगार, गरिबी निवारण र आर्थिक समृद्धि रहेका छन्। साथै पर्यटन प्रवद्र्धन, जलस्रोत र हाइड्रोपावर विकास, वैज्ञानिक तथा व्यवहारिक शिक्षा प्रणालीलाई पनि प्राथमिकतामा राखिएको उनले बताइन् ।

माओवादीबाट अलग हुनुको कारण

लामो समय तत्कालीन नेकपा माओवादी केन्द्रमा सक्रिय रहेकी गौतमले पार्टीभित्र विधि र जनमुखी राजनीति कमजोर हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । ‘जनतासँग नजाने, चुनावमा मात्रै ठूला कुरा गर्ने प्रवृत्तिले पार्टी कमजोर भयो’,उनले भनिन् । पदलिप्साले कम्युनिस्ट आन्दोलनको मर्म बिर्सिएको भन्दै उनले वास्तविक परिवर्तनको खोजीमा नयाँ राजनीतिक यात्रामा आएको स्पष्ट पारिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.