लघुकथा : भुइँमान्छे

भूमिका गैरे तिमिल्सिना
१७ माघ २०८२ ७:४०
40
Shares

“निकै ठूल्ठूला कुरा गर्दो रहेछ है !” ऊ खिस्स हाँस्यो।

यथार्थता दर्शाउँदै मैले भनेँ, “किन सानो भन्दैमा अन्यायका विरुद्धमा बोल्नै नहुने भो ? ठूलाले गरेको सबै राम्रो मानेर सुनिदिनु पर्ने, मान्नुपर्ने अनि सानो भन्दैमा जहिल्यै खुम्चिनु पर्ने ?” मेलै तिक्तता व्यक्त गरेँ।

ऊ जङ्गिदै बोल्यो, “न पद न प्रतिष्ठा, समूहमा क्रान्तिकारी भाषण गर्ने, मान्छे उचाल्ने, तेरो यत्रो साहस !” ऊ होच्याउँदै बोल्यो र आवाज दबायो ।

गम्भीर भएर शान्त हुँदै मनमनै गुनेँ, “भड्किनु पर्ने त केही पनि थिएन ? सामान्य कुरो मात्र थियो, आगै भए त ? ठूलै अपराधै गरे जस्तो, के गल्ती भयो र मबाट ?” बोलेका शब्द पुन: दोहोर्‍याएर त्रृटि नियाल्ने कोसिस गरेँ।

फेरि सोचेँ, “नबोले नि हुँने हो, बेकार किन बोले हूँला ? सबैलाई चलेको ठाउँमा मलाई मात्र किन टाउको दुखेको, भो जेसुकै होस् अब बोल्दिन ।” मैले आफैंसित प्रण गरेँ र मौन बसेँ।

मेरो मौनता उसलाई सहिनसक्नु भएछ, निचा देखाउँन हरतरहले प्रयास गर्‍याे। ऊ औँल्याउँदै भन्दै थियो, ” अल्अलि के पढेको थियो, आँफूलाई केकनै मैहुम ठान्दो रहेछ? नमच्चिने पिङको सय झट्का ।” उसले व्यङ्ग्य कस्यो।

फेरि केही नरम भएर सहानुभूति देखाउँदै, “तेरो परिवारलाई के गरिन? सरसापटी, पिरमर्का, सहयोग चाहिदा कहिल्यै नाई भनिन्, नपत्याए तेरो बाउलाई सोध।” उसले फकाउँन खोज्यो।

सबै नियाली रहेको तेस्रो निडर हुँदै भन्यो, ” क्षमतावान मान्छेको मौनता पनि अहंकारीको गतिलो हतियार बन्न सक्छ, सधैं कति भुइँमान्छे नै भएर जीवन बिताउँछौ हँ ?” उसले ढाडस दियो।

लघुकथा : अफवाह

“अन्याय भयो, अन्याय भयो ।” कुकुरहरूको चर्को आवाज सुनियो। बिरालाहरूले पनि ङ्यारङ्यार गर्दै आफ्नो राय राखे, “हाम्लाई पनि चाहिन्छ, चाहिन्छ ।” उनीहरूले पनि कान ठाडा पार्दै सतर्कता देखाए।

स्यालहरूले पनि समर्थन जनाए, ” होहो, नियम मिच्न पाइँदैन, पाइँदैन। गलत भो, गलत भो।” एकैचोटि सबै कराए ।

बाँदरहरूको हुल पनि के कम मिसियो एउटा रूखको हाँगाबाट अर्को हाँगामा मच्चिदै भन्न थाले, “खबरदार ! खबरदार !! हाम्रो माग पूरा गर, पूरा गर।”

सुतिरहेको बाघलाई अशान्ति महसुस भयो, ऊ गर्जियो, ” केको हल्लाखल्ला हो, कसलाई के पुगेन, केको नाराबाजी हो ?” उसले मौनता तोड्दै सोध्यो ।

बाटो जाम भयो, सडक तातियो । प्रहरी खटिए, उनीहरूलाई हम्मेहम्मे पर्यो । सबैका आआफ्नै मत थिए । कोही डेग चलेनन् । लाठी चार्ज गर्ने अनुमति थिएन । उनीहरू हैरान भए।

बाघले सुल्झाउँन सकेन, सिंहासनमा खबर पुर्‍यायो र सिंहलाई सबै वृतान्त बतायो, “कोही सहमतिमा नआउने भए, म के गरूँ ?” भन्दै ऊ मध्यस्थकर्ता बन्न लालायित देखियो।

सिंहले नाइकेहरूलाई ल्याउने आदेश दियो । सबैले तोकिएकै समयमा उपस्थिति जनाए।

सिंह, सबैले कुकुरतिरै पुलुपुलु हेरेको दखेर अचम्मित मुद्रामा सोध्यो, “तथ्य कुरा नबुझी अफवाहको पछाडि लागेर हुन्छ, जिम्मेवार बनेको खोई ?” एकाएक बैठकमा सन्नाटा छायो र सबैले एकअर्कालाई हेर्दै मौनता साँधे।

लघुकथा : वन्दना

“कताको साइत हो ?” हिड्न लाग्दा आमाले प्रश्न तेर्‍याउनु भयो।

“सरस्वती पूजाको कार्यक्रममा जान लागेको। ” भन्दै हरिशरणले जवाफ फर्कायो।

साहित्यप्रेमी प्राज्ञहरूले कार्यक्रमको आयोजना गरेका छन्।  सबैलाई ग्रुपबाटै केही न केही सुनाउँनु पर्ने खबर भएको छ। लेख रचना लिएर निर्धारित समयमा नै सबैले उपस्थिति जनाए । हल शान्त अनि खचाखच भरिएको छ।

उद्घोषकले कार्यक्रमको तारताम्य मिलाए र सुरू गरे। अतिथिको आसन ग्रहण, राष्ट्रिय गान, कार्यक्रमको उद्घाटन सरस्वतीको वन्दनासहित शङ्खको एकाग्रपूर्ण शान्त ध्वनिले सभाहल गुञ्जियो। अतिथिहरूको स्वागत मन्तव्य,कार्यक्रमको औचित्यमाथि प्रकाश पनि पारियो।

रचना वाचन सुरू भयो। स्रष्टाहरूले विद्याकी देवी सरस्वतीको कविताबाटै महिमा गान गाएर सुनाए। साहित्यकारहरूको गुणात्मक उपस्थितिले सबैको ध्यान खिँचेको छ। हातमा वीणा, पुस्तक लिएकी, स्फटिकको माला, वाहन, हातमा वाद्ययन्त्रको मधुर धुनले जीवनलाई नै संगीतमय तुल्याएको वर्णन गरे।

मन्तव्यका क्रममा हरिशरणको पालो आयो। उद्घोषकले बोलाए, ऊ मञ्चमा गयो र माइकमा बोल्न थाल्यो, “लक्ष्मी र सरस्वती सौतासौती हुन्, यिनीहरू एक साथमा बस्दैनन् । एकले लिन सिकाउँछिन भने अर्कीले दिन।” भन्दै उसले ठट्यौली पारामा कुरा टुङ्ग्यायो। पररर ताली बजे।

कार्यक्रम समापन भयो र सबै आ-आफ्नो बाटो लागे। आमाले व्यङ्ग्य कसेर भन्नुभयो, ” जति विवेकका कुरा गरेनी देशा यस्तो तछाडमछाड छ, नेताका बुद्धि कहिले फिर्लान्, कुन्नि ?” उहाँले समसामयिक परिवेश दर्शाउँनु भयो।

लघुकथा : हिंसा

आमा गृहकार्य गर्न साथीकोमा जान्छु है, भन्दै कापी कलम च्यापेर निर्मला हिँडी। आमा कराउँनु भयो, “आज शनिबार, नुहाइधुवाइ गर्नुपर्छ । सरसफाइमा ध्यान दिनु पर्दैन।” उनले आवाज ठूलो गरिन्।

निर्मला आमाको कुरै नसुनी साइकल चलाएर गई, दिनभरि दुबैसँगै रहे, नोट सकेर खाजा खाने, टिभी हेर्ने अनि खेल्ने गरे। नजिक रहेको अम्बाको बोटमा चढी अम्बा टिपेर खाए पनि । दिन रमाइलै गरी बिताए । साथीसङ्ग बिदा मागी निर्मला घरतर्फ लागी।

यता आमा भने दिनभरिको कामको चाँपले फुर्सद थिएन। छोरी कहाँ गई, के गरी, कोसँग छे? जाँचबुझ गरिनन्। बेलुका घर फर्किइन् र छोरी खोज्दै बोलाउँन थालिन्, ” निर्मला ए निर्मला कराउँदै, अहिलेसम्म दिदी आएकी छैन, कहाँ गई त्यो ?” भाइलाई सोधिन्। उसले टाउको हल्लाएर सांकेतिक भाषामा जवाफ फर्कायो, ” अँह, छैन।”

फेरि, आफ्नै धन्दामा अल्झिइन्। बेलुका अबेर बुवा घरमा आएर छोरी खोज्दै भने, ” अझै आएकी छैन, किन हो? ख्याल राख्नु पर्दैन।” उनले झर्कँदै फोन लगाए।

साथीबाट निर्मला दिउँसै घर फर्किएको जानकारी भयो तर ऊ घरमा आएकी थिइन्। उनमा बेचैनी बढ्यो। आफ्न्तमा खबर गरे, हल्लाखल्ला मच्चियो।

त्यत्तिकैमा एउटाले भयभित हुँदै खबर ल्यायो र भन्यो, “उखुबारी भित्र एक किशोरीको बीभत्स अवस्थामा शव रहेको छ भनि जानकारी गरायो।” उनी झस्किए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *