निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई स्पष्टीकरण
किमाथाङ्का । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ।
तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिनुभयो। दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ।
कर्मचारीको नाम भने खुलाइएको छैन। ती कर्मचारीलाई लिखित स्पष्टीकरण लिएको उनको भनाइ छ। आचारसंहिता विपरीत गतिविधि पुनः दोहोर्याएमा कडा कारबाही गरिने सहायक निर्वाचन अधिकृत न्यौपानले बताए।
त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने निर्णयसमेत भएको उहाँले बताउनुभयो। प्रतिनिधिसभा सदस्य एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन्।
जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन्। जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन्। १५ दल र एक स्वतन्त्र उम्मेदवार छन्। जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment