काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा, मुख्य नाइकेलाई गोली लाग्यो

डिसी नेपाल
१५ माघ २०८२ १७:२७
364
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ।

मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।

पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाका अनुसार गिरफ्तार आरोपीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा महिलाहरूको गहना चोरी र एकान्तमा बसेर लुटपाट गर्दै मोटरसाइकलमा भाग्ने गरेका थिए। प्रहरी अनुसन्धान अनुसार लुटेरा समूहले हालसम्म उपत्यकामा २७ वटा लुटपाटको घटना गरिसकेको पाइएको छ।

‘जेनजी आन्दोलनपछि समूहहरु संगठित भएको देखिन्छ। दिनभरी प्रयोग गरिएका ट्याक्सी पनि नियन्त्रणमा लिएका छौं। ट्याक्सी चालकहरु रातीको समयमा नौ बजेतिर जम्मा हुने, खानासँगै खाने र १२ बजेपछि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेको पायौं,’ प्रहरी प्रवक्ता थापाले भने।

विनय तामाङ भदौ २४ मा जेनजी आन्दोलनको समयमा प्रहरीले हिरासतमा राख्दा भागेका थिए। प्रहरी प्रवक्ता थापाले बताए अनुसार, गएराति मोटरसाइकलबाट भाग्ने क्रममा उनीहरूलाई गोली प्रहार गरिएको हो। पक्राउ परेका अन्य नौ जनालाई पनि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

‘लुटेरा समुहका नेतृत्व गरेका तामाङ विगतमा पनि धेरै अपराधिक घटना घटाएको देखिन्छ। १० जनाको समूहलाई अह्राईखटाई गरिरहेको देखिन्छ। तामाङ गत भदौ २४ गते भन्दा अगाडि बुढानिलकण्ठमा चोरी डकैतीको अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहि महारागञ्ज वृत्तको हिरासतमा रहेको अवस्था थियो र भदौ २४ गतेको आन्दोलन पश्चात फरार भएका थिए,’ उनले भने।

पक्राउ परेका लुटेरा समूहले सोह्रखुट्टे, बौद्ध, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमी क्षेत्रमा विशेषगरी रातको समयमा लुटपाटको गतिविधि गर्दै आएको उनले बताए।

प्रहरी कार्यालयमा आज मात्र २७ वटा जाहेरी आएको भन्दै प्रहरीले समुदायलाई सचेत रहन र अनावश्यक रूपमा एक्लै नहिँड्न सुझाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.