म्याग्दीबाट एक सय निर्वाचन प्रहरी बागलुङ पठाइयो
म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ।
बागलुङमा निर्वाचन प्रहरीका लागि आवश्यकभन्दा कम आवेदन परेकाले म्याग्दीबाट पठाइएको हो। दुई सय १२ जना निर्वाचन प्रहरी माग गरेकोमा मङ्गलबार बिहानसम्म १०२ जना सम्पर्कमा आएका बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो।
म्याग्दीबाट गएकासहित एक हजार २४० जनालाई तालिम दिन सुरु गरेको उहाँले बताउनुभयो। तीन पटक म्याद थप्दासमेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ लगिएको हो। निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८६१ निर्वाचन प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो। उनीहरूका लागि बेनीको खुला मञ्च खेल मैदान र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा १० दिने तालिम सञ्चालनल भएको छ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो। छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३३२ पुरुष र ४४ हजार ६४ जना महिला र एक जना अन्य गरी कूल ८६ हजार ३९७ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अतिसंवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।







डिसी नेपाल








Facebook Comment