लघुकथा : न्यायको तराजु
फैसला भयो रे!
यिनीहरू कहिल्यै मिलेनन् तर आज निर्णय भएकोमा पहिलो खुसी हुँदै भन्यो, ” जे भयो राम्रै भयो कमसेकम अब यिनका कचकच सुन्नु त परेन।” उसको मुहार चमक देखियो
दोस्रोले सही थाप्दै, ” बिहान बेलुका, रातदिनको झगडाले गाउँ छिमेकी हैरान परेका थिए। कागजमा मात्रै मिलाएर के गर्नु विचार नमिलेसी?” उसले दिकदारी व्यक्त गर्याे।
विष्णु र मदन मिल्ने साथी थिए। सँगै पढीलेखी, हुर्कीबढेकाले आत्मियता पनि प्रगाढ नै थियो। तर एक्कासी किन त्यति साह्रै बेमेल भएछ क्यार पत्तै भएन? पहिलोले एकोहोरो घोरिएर सोचेर बोल्यो।
त्यतिकैमा मदन केको गलफती हो, केटा हो भन्दै टुपुल्कियो। उसलाई देखेर दुबैले ऊत्कण्ठाले भरिएको नजर डुलाए। पहिलोले सोध्यो, ” अँ केके भयो? कुरो मिल्यो नि हगि!”
उसले भन्यो, “दुबै आगोआगो भएर केको मिलिन्थ्यो, मैले इज्जत सम्झेर विनम्रता देखाए र सही गरेर पो।” उसले खिन्नता व्यक्त गर्याे।
दोस्रोले सहानुभूति देखाउँदै भन्यो, ” कुरो जग्गाको थियो हैन, छोड्दे मरिलानु केनै छर? भाग्यले साथ दिए फेरि जोडिन्छ।” उसको भावमुहार पढ्दै विश्वास दिलायो।
मदनले घटना नियाल्दै गहन भएर बोल्यो, ” बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल कुहिने भन्थे, न्यायको तराजु पनि शक्तिको अगाडि ढल्कँदो रहेछ।” उसले लामो सास तान्दै निराशा व्यक्त गर्याे।
लघुकथा : बालमनोविज्ञान
“बाबा हुजरको विहेमा मलाई किन नलगेको?” छोराले फोटो अनि भिडियो देखाउँदै सोध्यो।
हजुरआमा सुनेर हाँस्दै, ” के भन्छ ?” भन्दै काममा अल्मलिनुभयो।
फेरि रून्चे स्वरमा, ” ममी, आमा, बुबा अनि तपाइँ सबै हुनुहुन्छ तर ममात्र काहीँ छैन। खानेकुरा पनि कति धेरै अनि मिठामिठा रहेछन्।” अबोध स्वरले एकोहोरो गनगन गर्याे।
छोराको उत्कण्ठाले भरिएको प्रश्नले उनी नि:शब्द भए। अनेक बहाना बनाउँदै थिए। त्यतिकैमा ममीले आवाज दिँदै भित्र आइन र भन्न थालिन्, ” केको गनगन हो बाबुको।”
उसले ममीको अनुहार मुसार्दै पुन: उहीँ प्रश्न दोहोर्यायो, “तपाईंहरूको विहेमा किन नलगेको, कहाँ गएको थिए र म?” उसले दुखेसो पोख्दै रून थाल्यो।
उनले अनकन गर्दै फकाउँन थालिन्, ” तिमी घरमा थिएनौ, घुम्न गएका थियौ, त्यसैले।” उनले अल्मल्याउँन खोजिन्।
फेरि मायालु स्वरमा, “बाबु नयाँ लुगा लगाएर आज घुम्न जाने है । बरू भनन कहाँ जाने?” उनले कुरा बङ्ग्याइन्।
छोराले उत्सुकताले भरिएको नजर जुधाउँदै भन्यो, ” पार्क अनि कोको जाने?”
यस्तै बातचित चलिरहेका बेला हजुरआमा आएर परिवेश नियाली बाबुलाई सुमसुम्याउँदै भन्नुभयो, ” तिमी जन्मिएकै थिएनौ बाबु, यो उमेर जिज्ञासुको हो, तिमीहरू किन कुरा बुझ्दैनौ हँ?” उनले स्नेहले छातीमा टाँसिन्।
No ads found for this position


Facebook Comment