रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

दिपेश पौडेल
२५ माघ २०८२ १०:२१
20
Shares

रौतहट। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँ-गाउँ र टोल-टोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन्।

रौतहट क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ। यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन्।

उनीसँगै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ता प्रतिस्पर्धामा छन्। कांग्रेसको तर्फबाट नेपाल सरकारका पूर्वउद्योगमन्त्री अनिल कुमार झा, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साझा उम्मेदवारका रूपमा मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव पनि घरदैलोमा रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेश चौधरी, जनमत पार्टीका देवेन्द्र मिश्र, आम जनता पार्टीका त्रिभुवन साह र जनअधिकार पार्टीका संजय यादव पनि सक्रियताका साथ मतदाता रिझाउन व्यस्त देखिन्छन्। यस क्षेत्रमा विकास र पूर्वाधार निर्माणलाई नै सबै उम्मेदवारले मुख्य प्राथमिकतामा राखेका छन्।

क्षेत्र नम्बर २ मा पनि चुनावी प्रतिस्पर्धा तीव्र छ। यहाँ नेपाली कांग्रेसका तर्फबाट डा. मोहम्मद फिर्दोस आलम र नेकपा एमालेका मोहम्मद अतिउल्लाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वसांसद किरण कुमार साह, जसपाबाट राम आशिस यादव, रास्वपाबाट शेख सगीर र आम जनता पार्टीबाट भगवान पटेल पनि चुनावी मैदानमा उत्रिएका छन्। क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह पुनः आफ्नो वर्चस्व जोगाउने दाउमा छन्।

उनलाई टक्कर दिन यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी समाजसेवी महिला उम्मेदवार पुनम यादव र, नेकपा एमालेले पूर्वप्रदेश सांसद कुन्दन कुशवाहालाई मैदानमा उतारेको छ। रास्वपाका रविन्द्र पटेल धिरज, नेपाली कांग्रेसले राम कृपाल यादव, जसपाका गोविन्द चौधरी, जनमतका शेख प्रबेज आलम र नेमकिपाकी रेखा पटेल पनि मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन्।

रौतहट क्षेत्र नम्बर ४ यसपटक देशभरिकै ध्यान तान्ने क्षेत्र बनेको छ। यहाँ चर्चित पूर्व सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट चुनावी मैदानमा होमिएका छन्।

धमलाको उम्मेदवारीले यस क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। यहाँ नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका राम कुमार भट्टराई र रास्वपाका गणेश पौडेल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

उम्मेदवारहरूले बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारका प्रतिवद्धताहरू मतदातासामु राखिरहेका छन्। सबै क्षेत्रका उम्मेदवारहरूले रौतहटको पिछडिएको क्षेत्रको विकास, सडक सञ्जालको विस्तार, सिँचाइ र शिक्षामा सुधारलाई नै आफ्नो चुनावी नारा बनाएका छन्।

फागुन २१ को निर्वाचनले रौतहटको राजनीतिक भविष्य कुन दिशामा लैजाने हो, त्यसको छिनोफानो गर्नेछ। हाललाई भने रौतहटका गाउँ-बस्तीमा चुनावी नारा र उत्साहले माहोल निकै तातिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.