लघुकथा : यो पो धर्म
‘यो संसारमा केही रहेनछ। श्रीमती, छोराछोरी, बाबुआमा लगायत सारा समाज स्वार्थी। आफन्त स्वार्थी। सबका सब स्वार्थी। यो संसार नै स्वार्थी’ पण्डित लुरुकान्तलाई वैराग्य चल्न थालेको छ।
उनी भन्न थालेका छन्: ‘यो जिन्दगी क्षण भङ्गुर छ, यो वायु भित्रबाहिर गर्छ र हामी छौँ। जुनदिन बाहिर निस्केको वायु भित्र पस्तैन त्यतिबेला हामी लासमा परिणत भइसकेका हुन्छौँ। भौतिक सम्पत्तिसँगै जाँदैन’
उनका यी कुराहरूलाई धर्मभीरुहरू फूलमालाले स्वागत गर्छन्, प्रसाद चढाउँछन्। पण्डित दक्षिणा खल्तीतिर हाल्छन्। मानौँ उनले भौतिक वस्तु सँगै लाने बाटो देखाइदिन्छन्। यो वैराग्य उनको पेसा थियो।
छोराले क्यानाडा बोलायो। केही दिन त छोरा बुहारीले खातिरदारी गरे। त्यसपछि उनी मान्छेको भिडमा हराए। घरनजिकै रहेको छोराको पाकिस्तानी साथी हैदरको स्टोरमा जान थाले। काम गर्दागर्दै पनि उनीसँग गफिनु पर्ने भयो। सुरुसुरुमा साथीको बुबा भएकाले ‘हो, हस्’ भन्ने ग¥यो। पण्डितजीले नेपालकै उही कुरा दोहो¥याउन थाले। भाषा पनि सहज भयो।
‘हैदर बाबु, ….क्षण भङ्गुर, …….सँगै जाँदैन,……..व्यर्थको यो संसार……., भगवान्को नाम लेऊ, किन व्यर्थको यो चटारो, जिन्दगीमा कति दौडिन्छौ ?’
हैदर आजित भयो। उसले हाँसीहाँसी भन्यो :
‘हो बुबा, जीवन नाशवान् छ। सबै धर्मले पनि यही भन्छन्। जिन्दगी क्षणभङ्गुर छ। बाहिर गएको वायु फर्केर नआएपछि हाम्रो लीला खतम हुन्छ। यसलाई यसरी बुझौँ न बुबा’
‘कसरी ?’
‘मानव जीवन पाइएको छ। हामीसँग समय थोरै छ। गर्नुपर्ने काम धेरै छन्। छिटोछिटो काम गर्नु छ। राम्रो काम गर्नु छ। त्यसैले हतार छ। म एकछिन बस्दिनँ। मलाई आनन्द लाग्छ कि कम्तीमा पचास जनाले मेरो स्टोरमा काम गर्दै छन्। बिस जना नेपाली छन्। गुजारा चलेको छ। म काम गर्छु त्यसैले अल्लाहले मलाई माया गर्नुहुन्छ। काम सेवा हो। सेवा धर्म हो।’
पण्डित लुरुकान्त ‘कनफ्युज्ड’ भए : ‘यो पो धर्म हो कि क्या हो ?’















Facebook Comment