सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

डिसी नेपाल
४ फागुन २०८२ १७:१४
328
Shares

मलङ्गवा (सर्लाही)। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन्। जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषिलाई कारवाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन्।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए। सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलङ्गवा फर्किनुभएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।

मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले बताए। उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए। गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राईले बताए। सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.