बझाङमा प्रसिद्ध चैतली मेलाको रौनक सुरु

डिसी नेपाल
५ फागुन २०८२ १०:५०

बझाङ । बझाङको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध चैतली मेलाको रौनक सुरु भएको छ । हजारौँको संख्यामा श्रद्धालु आउने यो मेलालाई यसपटक सुरक्षित र व्यवस्थित बनाउन बान्नी चौरमा धमाधम काम भइरहेको छ ।

रातको समयमा हुने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै समितिले चौरमा अत्याधुनिक हाइमास बत्ती जडान गरेको छ । चैतको महिनामा हुने आकस्मिक वर्षाले विगतमा मेला प्रभावित हुने गरेको थियो । त्यसैले यसपटक दुईवटा ठूला आश्रय टहरा निर्माण गरिँदैछ । साथै, खानेपानीको अभाव हुन नदिन विभिन्न स्थानमा धाराहरू जडान गर्ने काम पनि भइरहेको छ ।

मेलालाई केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नराखेर मनोरञ्जन र खेलकुदसँग पनि जोडिएको छ । यस पटक मेलामा खुला भलिबल प्रतियोगिता र देउडा जस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने योजना छ । यो सबै व्यवस्थापनका लागि स्थानीय नागरिकको श्रमदान र प्रवासमा रहेका नेपालीहरूको आर्थिक सहयोग मुख्य आधार बनेको छ । अध्यक्ष शिद्धराज थापाका अनुसार देश विदेमा रहेका भक्तजनले केही आर्थिक ुहयोग गरिसेका छन् ।

सो रकमले हाल संरचना निर्माणको काम भइरहेको छ । थप व्यवस्थापन र अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि समितिले भक्तजनलाई थप आर्थिक सहयोगको अपिल समेत गरेको छ । काँकर, भकुण्डो र स्थानीय मौलिक संस्कृतिको सम्मिश्रण रहने यो दुई दिने मेलामा नेपालका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । व्यवस्थित पूर्वाधार निर्माणले यस वर्षको मेला अझ भव्य हुने विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.