मिडियाबाजी गरेर र भीड उतारेर चुनाव जितिन्छ भन्ने भाष्य तोड्नुपर्छ : दुर्गा सोब
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष परिषद् सदस्य एवम आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार दुर्गा सोबले मिडियाबाजी र पैसा खर्च गरेर चुनाव जित्ने प्रबृति गलत भएको बताएकी छिन्।
उनले निर्वाचनमा पूरानो परम्परालाई तोड्दै मुद्दा केन्द्रीत चुनावी अभियान संचालन गर्नुपर्ने पनि बताइन्। मिडियाबाजी गरेर र भीड उतारेर चुनाव जितिन्छ भन्ने पूरानो भाष्यको अन्त्य गर्नुपर्ने पनि बताइन्।
‘निर्वाचन आएको छ, हामी घरदैलो अभियानमा छौं। हाम्रा मुद्दाहरु मतदाता समक्ष राखिरहेका छौं। तर निर्वाचनमा गलत प्रबृत्ति स्थापित हुँदै गएको छ। मिडियाबाजी गर्ने, भीड उतार्ने र हल्लाखल्ला गर्ने प्रबृत्ति विकसित गरेर चुनाव जितिन्छ भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ,’ उनले अगाडि भनिन्, ‘तर हामी अलिक पृथक छौं। एजेन्डाले जनताको मन जित्न चाहन्छौं।’
आफ्नो पार्टीका उम्मेदवारहरु पैसा खर्च गर्नसक्ने अवस्थामा नरहेकाले जनताहरुले नै सहयोग गरिरहनु भएको पनि उनको भनाइ छ। आफ्नो पार्टीमा बहुसंख्यक उम्मेदवारहरु जेनजी उमेर पुस्ताको रहेको पनि उनले जानकारी दिइन्। ‘जेनजी आन्दोलन ऐतिहासिक बन्यो। विश्वलाई नै चकित पार्ने किसिमले ठुलो सन्देश प्रवाह गर्ने किसिमको रहयो। त्यसैले हामीले जेनजी पुस्तालाई प्राथमिकता दिएका हौं,’ उनको भनाइ थियो।
पछिल्ला बर्षहरुमा खर्चिलो निर्वाचन प्रणालीका कारण धेरै राजनीतिक दलहरु र तिनका कार्यकर्ताहरुलाई निराश तुल्याएको उनको दुखेसो छ। ‘हामी सानातिना भेलाहरु मात्र गरिरहेका छौं। सोसल मिडिया र घरदैलोमार्फत हाम्रा मुद्दाहरु बुझाइरहेका छौं। सभ्य र भब्य तरिकाले प्रश्तुत भएका छौं, जसलाई मतदाताले रुचाइदिनुभएको छ। तर पपुलिजम तरिकाले चुनावी अभियान संचालन गरिएकोप्रति हाम्रो आपत्ति छ,’ उनले प्रष्ट पारिन्।
यतिबेला देश संकटमा रहेकाले संकटबाट मुक्त दिनेगरी आफूहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेको उनले जानकारी दिइन्। ‘यतिबेला देश विषम परिस्थितिमा गुज्रिरहेको छ। जनतामा निराशा छ। अर्थतन्त्र गिर्दो अवस्थामा छ। बेरोजगारी दर बढ्दो छ। युवाहरुले देशमा सपना देख्न छाडिसकेको अवस्था छ। यस्ता मुद्दालाई चिर्नेगरी घोषणा पत्र ल्याएका छौं,’ सोबले भनिन्।
नेपालमा अधिकांश राजनीतिक दलहरुले ०४८ सालदेखि लेखेका घोषणा पत्रलाई कार्यान्वयन गर्न नसकेको, जनताले पत्याउन छाडेकाले साना तर अर्थपूर्ण मुद्दाहरुलाई आफूहरुले समेटेको उनको दाबी छ।
आफ्नो पार्टीमा पूर्वप्रधानमन्त्री भिजनरी नेता डा.बाबुराम भट्टराई रहेको उल्लेख गर्दै उनले देश बदल्ने संकल्पसहितको घोषणा पत्र तयार गरेको उनले बताइन्। ‘यतिबेला अर्थ राजनीति, सामाजिक मुद्दाहरु, रोजगारीका कुराहरु, निर्वाचन प्रणालीकै मुद्दा पनि छ। विभिन्न जातजाति, भाषाभाषी, संस्कार-संस्कृति र सम्पदाहरुको जगेर्नाका कुराहरु हामीले समेटेका छौं,’ उनले भनिन्।
यस पटक विशेष निर्वाचन भएकाले परिस्थिति फरक रहेको र जनताको मनस्थिति पनि भिन्न रहेको उनको बुझाइ छ। ‘प्रगतिशील लोकतन्त्र उन्नतिशील राष्ट्र’ नारा नै बनाएर इन्द्रेणी राष्ट्रवादको परिकल्पना गरेर आफूहरु अगाडि बढेको सोबले उल्लेख गरिन्। पूराना पार्टी र नयाँ भनिएका वैकल्पिक पार्टीहरुबीच धेरै भिन्नता रहेको उल्लेख गर्दै उनले ह्वीमका कारण समाजलाई विभाजित गर्न नहुने र इमान्दार भएर प्रश्तुत हुनुपर्नेमा उनको जोड छ।
‘मेरो सन्दर्भमा कुरा गर्नुहुन्छ भने नेपाली समाजलाई एकदमै सुक्ष्म तरिकाले बुझेको छु। लडेको मान्छे आउनुपर्छ भन्नेमा छु। समाजको पत्र पत्र केलाएर अध्ययन गरेकाले भिजन पनि दिन सक्छु जस्तो लाग्छ।’
नेपालको संविधान उत्कृष्ट रहेको उल्लेख गर्दै उनले उचित रुपमा कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरिन्। ‘संविधान जारी भएपछि हामीहरुले डे वानदेखि नै संशोधनको कुराहरु उठाइरहेका छौं। संविधान गिलासभरि छ तर आधा गिलास खाइरहेका छौं, यसलाई पूर्णता दिन धेरै गर्नुपर्नेछ। थुप्रै शासकीय स्वरुपका कुरा, केही समुदायका मुद्दाहरुलाई राम्रोसँग सम्बोधन गर्न सकेको छैन। धारा ४२, धारा २४, ३८ कार्यान्वयन भएका छैनन्। जसका कारण जनतामा असन्तुष्टि बढेको छ। धारा १८ले समानता भनेको छ तर समानात कहाँ छ?’ उनले अगाडि भनिन्, ‘शासकीय स्वरुप, महिलाका मुद्दाहरु कार्यान्वयन भएका छैनन्। त्यसैले संविधान आधा गिलास मात्र छ, अब पूर्ण गर्नुपर्छ।’
प्रगतिशील लोकतान्त्रिक पार्टीले देशभर ८७ ठाउँमा उम्मेदवार उठाएको जानकारी दिँदै उनले पार्टीले छोटो समयमा उल्लेख्य प्रगति गरेको दाबी पनि गरिन्। आर्थिक रुपमा आफ्नो पार्टी कमजोर रहेको जनाउँदै उनले जनताले यस्ता कुराहरु बुझ्न नसकेको बताइन्।
‘जनताले पनि केही कुरा बुझेका छैनन्। अलिकति हाइफाई गर्ने, पैसा खर्च गर्ने वा खर्च दिनसक्नेलाई जिताइदिन्छन्,’ उनले भनिन्। पूराना पार्टीहरुको इतिहास र योगदान गौरपूर्ण भएपनि सत्तामा पुगेपछि जनताको भावना अनुसार काम गर्न नसकेको उनले चिन्ता व्यक्त गरिन्। पूराना पार्टी बदलिनुपर्ने र नेताहरु सच्चिएर आउनुपर्ने उनको भनाइ छ।
डा.बाबुराम हाम्रो अभिभावक
आफ्नो पार्टीको संरचना पूराना पार्टीहरुको भन्दा पृथक र समावेशी रहेको उल्लेख गर्दै उनले सोही कारण पाँच जनाको अध्यक्ष परिषद् निर्माण गरेको बताइन्। ‘हामी अरुभन्दा फरक छौं। अन्य पार्टीहरुले एक जनालाई देवत्वकरण गरिरहेका छन्। हामी त्यसो गर्न चाहन्नौं। हामी संगठनमा योगदान गरेका व्यक्तिलाई जिम्मेवारीमा राख्न चाहन्छौं। त्यसकै नमूना हो हाम्रो, पूरानो परम्परा तोड्न खोजेका हौं,’ उनले भनिन्।
कुनै समय उज्वल थापाले एउटा वैकल्पिक शक्ति निर्माण गरेको स्मरण गर्दै सोबले डा.बाबुराम भट्टराईलाई एक जना प्रणेता मानेको बताइन्। ‘उहाँसँग एउटा भिजन छ। नेपाललाई कस्तो बनाउने भन्ने खाका छ। उहाँ हाम्रो पार्टीको संरक्षक हुनुहुन्छ। उमेरले उहाँ अलि पाको हुनुहुन्छ। सोच र विचानर पाको भएको छैन्, युवा जोश छ। उहाँ नेतृत्व हस्तान्तरण र पूस्तान्तणको पक्षमा हुनुहुन्छ त्यसैले सक्रिय नेतृत्व सम्हाल्ने पक्षमा हुनुहुन्न,’ उनले अगाडि भनिन्, ‘विचारले उहाँ युवा हुनुहुन्छ। त्यसैले उदाहरण बन्न चाहनुहुन्छ।’
डा.भट्टराई आफै विचार निर्माण गर्नसक्ने भिजन भएको नेता भएकाले उहाँलाई आफूहरुले अभिभावक मानेको पनि उनले जानकारी दिइन्। आसन्न निर्वाचनमा नयाँ भर्सेस पुरानोबीच प्रतिस्पर्धा भइरहेकाले स्पष्ट विचार बोकेको, इमान्दार र त्यागी उम्मेदवारलाई भोट दिन उनको आग्रह पनि छ।







डिसी नेपाल







Facebook Comment