पूर्वराजा शाहको सुझाव- राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुन्छ

डिसी नेपाल
६ फागुन २०८२ १७:१५
52
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सबै पक्षबीच सहमति गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।

उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार एक भिडियो सन्देश जारी गर्दै आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्ननसक्ने उल्लेख गर्दै पहिले सबै पक्षबीच सहमति हुनुपर्ने बताएका हुन्।

‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ,’ उनले भनेका छन्। उनले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रूपमा आग्रहसमेत गरेका छन्।

‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुनेछ। मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो,’ उनको आग्रह छ।

उनले यतिबेला देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको बताएका छन्। संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको उनको टिप्पणी छ। सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबर्द्धन गर्न उनले सबै पक्षसँग आग्रहसमेत गरेका छन्।

‘आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो,’ उनले भनेका छन्।

अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उनको भनाइ छ। उनले ८ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.