नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

डिसी नेपाल
९ फागुन २०८२ २०:२३
16
Shares

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा आज यहाँ सम्पन्न अभ्यासमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नमना मतदान गराइएको हो। निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाउने लक्ष्यका साथ अभ्यास सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख लालप्रसाद शर्मा भुसालले बताए।

“नमुना मतदानलाई वास्तविक निर्वाचनको स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन वटा लाइनको व्यवस्था गरिएको थियो”, उनले भने, “अभ्यासमा मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको सक्रिय सहभागिता थियो।”

अभ्यासका क्रममा मतदानका बेला हुनसक्ने सम्भावित विवाद व्यवस्थापन, मतपत्र च्यातिने वा बिग्रिने अवस्थाको समाधान, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा समाधान, लाइन व्यवस्थापन, घुइँचो नियन्त्रण, सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए।

निर्वाचन प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र मतदातामैत्री बनाउँदै फागुन २ज्ञ गतेका दिन कुनै अन्योल नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास प्रभावकारी हुने विश्वास लिइएको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताए। उनका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.