कञ्चनपुरमा दुई अस्थायी मतदान केन्द्र निर्धारण

डिसी नेपाल
१० फागुन २०८२ २२:३२
24
Shares
कञ्चनपुर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले कारागार शाखा र भीमदत्त नगरपालिका कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको बताए।
जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीका लागि उक्त अस्थायी मतदान केन्द्र निर्धारण गरिएको अधिकृत जोशीले बताए।
यहाँ अस्थायी मतदाताको सङ्ख्या पाँच सयभन्दा बढी रहेको छ, जसमा २१ जना कैदीबन्दी रहेका छन्। कारागारमा धेरै कैदीबन्दी रहे पनि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मात्र मतदान गर्न दिइने व्यवस्था रहेको अधिकृत जोशीले जानकारी दिए।
यसैबीच, जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट कार्य सम्पन्न भई तालिम सुरु गरिएको छ। आज निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ। सोमबार निर्वाचन क्षेत्र नं २ र ३ का लागि तालिम सञ्चालन योजना छ।
तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले सहायक कर्मचारी छनोट गरी खटाउने कार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। मतपत्र तथा निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री जिल्लामा आइपुगेको र निर्वाचन क्षेत्रमा ढुवानी गर्ने कार्य भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयमा पठाइएका सामग्री रुजु गर्ने र पोका बनाउने कार्य भइरहेको जोशीले जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.