चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा

डिसी नेपाल
११ फागुन २०८२ १६:०१
532
Shares

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपश्चात् नेपाल सरकारबाट प्राप्त हुने तलब–भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।

बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई शिक्षासम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

“राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,” उनले भने, “म निर्वाचित भएमा पाउने तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नेछु।”

उनले शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जनाए। घिमिरेले दाङ–२ मा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए। चुनावी सभामा उपस्थित स्थानीयवासीहरूले उम्मेदवारको घोषणालाई सकारात्मक रूपमा लिँदै शिक्षामार्फत् दलित तथा निम्न वर्गको जीवनस्तर उकास्ने योजनालाई स्वागत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.