भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन् ।
सोमबार साँझ ७ः११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लागि उडेको बिचक्राफ्ट सी-९० विमान करिब ७ः३० बजेदेखि सम्पर्कविहीन भएको थियो । पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्यु भएको पुष्टि गरिएको छ । सबै शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
यसैबीच, भारतीय उड्डयन परिषदले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरेको छ । परिषद्का अध्यक्ष डा. नितिन जाधवले सोमबार एक विज्ञप्तिमा भने,‘सिमरिया नजिक २३ फेब्रुअरी २०२६ मा भएको रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटनाप्रति हाम्रो गहिरो चिन्ता र हार्दिक समवेदना व्यक्त गर्दछौं ।’
विमान दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्ने बताइएको छ । रमेश कुमारले एएनआईसँग कुरा गर्दै भने,‘हामीलाई सूचना प्राप्त भयो कि विमान दुर्घटना भएको छ । यो क्षेत्र धेरै भित्री भागमा पर्दछ । यहाँ दुई किलोमिटरको लागि सडक छैन । जब हामी राति पुगेका थियौं, कुनै पनि व्यक्ति जिउँदो फेला परेन। मृत शरीरहरू निकाली मुख्य सडकसम्म बोक्न निकै कठिनाइ भयो । हाम्रोसँग केवल एक स्ट्रेचर थियो, जुन हामीले एसएसबीबाट ल्याएका थियौं । राति पनि त्यसैको प्रयोग गरेर उद्धार गरियो । यो दुई किलोमिटर जंगलमा हिंड्न एक्लै पनि गाह्रो छ, यहाँ घना झाडी र गहिरो जंगल छ । राति उद्धार गर्नु साँच्चिकै चुनौतीपूर्ण थियो ।’ एएनआई







डिसी नेपाल







Facebook Comment