लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित भएको पौडेलको दावी

डिसी नेपाल
१४ फागुन २०८२ १९:३९
132
Shares

बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशमा नेकपा एमाले नै बहुमत सहितको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।

फागुन २१ गतेको निर्वाचन पछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वासका साथ चुनावी अभियानमा होमिएको पौडेलले बताएका हुन्।

रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पौडेलले बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै एमालेले विगतमा र वर्तमानमा जनपक्षीय काम गरेको दाबी गर्दै भोली पनि जनताको पक्षमा काम गर्ने विश्वास सहित जनताले मत दिने बताए।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरू एमालेलाई नै जिताउनुपर्छ भन्ने माइन्ड सेट गरेर बसेको उल्लेख गर्दै जतिसुकै षडयन्त्र गरे पनि जनताको माइन्ड सेट परिवर्तन गर्न कठिन हुने बताए।

‘रुपन्देही क्षेत्र नं. २ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्। ती प्रक्षेपणहरू अहिले फेल खाने छन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनु पर्ने छ भन्ने माइन्ड सेट गरेर बसेका छन् जनताको त्यो माइन्ड सेटलाई परिवर्तन गर्न निकै कठिन छ,’ पौडेलले भने।

पौडेलले रुपन्देही क्षेत्र नं. २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे। ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुनर् उदय हुँदै छ,’ उनले भने।

उनले रुपन्देहीमा संचालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन सहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए।

‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भने।

पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *